सरकारले अध्यादेशबाट मुलुक चलाउन खोजेको भन्दै नेपाली कांग्रेस र नेकपा एमालेले त्यसप्रति आपत्ति जनाएका छन् । उनीहरुले सरकारले ल्याउने अध्यादेश जारी नगर्न राष्ट्रपति डा. रामवरण यादव समक्ष ध्यानाकर्षण समेत गराएका छन् । दुई दलले आज विहान बैठक गरी राष्ट्रपति कार्यालय शितल निवासमा पुगेर आफ्नो चासो व्यक्त गरेका हुन् । राष्ट्रपति यादवले भने यसबारेमा आफूले सबै दलसँग छलफल गर्ने आश्वासन नेताहरुलाई दिनुभएको छ ।
यसअघि कांग्रेस महामन्त्री प्रकाशमान सिंहको ठमेल, चाक्सीबारीस्थित निवासमा भएको दुई दलको बैठकले काम चलाऊ हैसियतमा पुगेको सरकारले राष्ट्रिय सहमति जुटाउनुको सट्टा बजेटसहितका विभिन्न अध्यादेश ल्याउन खोजेकोमा विरोध गर्ने निर्णय गरेको थियो । सरकारले ल्याउने बजेटसहितका विभिन्न अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई आग्रह गर्ने र सरकार विरुद्ध सडक आन्दोलन थाल्ने निर्णय विपक्षीले गरेका छन् ।