मुलुकभर एक साता ढिलोगरी मनसुन सुरु


 

काठमाडौं – एक साता ढिलोगरी मनसुन सुरु भएको छ । मुलुकको पूर्वी भागबाट मनसुन सुरु भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

‘गए रातिदेखि पूर्वी भागबाट मनसुनी वायुसँगै मनसुनी वर्षा सुरु भएको छ,’ बरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठले  भने, ‘चार पाँच दिनभित्रमा सम्पूर्ण भागमा (मनसुन) फैलनेछ ।’

नेपालमा १० जुनदेखि नै मनसुन सुरु हुनुपर्ने भए पनि शनिबार (१६ जुन)देखिमात्र पानी पर्न सुरु गरेको छ । शनिबार राति ओखलढुंगामा २३ दशमलव ५ मिलिमिटर तथा ताप्लेजुङमा २५ दशमलव ५ मिलिमिटर वर्षा भएको छ ।

मनसुन सुरु भएको प्रभाव काठमाडौंमा पनि देखिएको छ । आइतबार काठमाडौंमा कम घाम लागेको छ, बादलले ढाकेको छ, राति फाट्टफुटट् वर्षा पनि भयो । ‘मनसुन विस्तारै मध्य हुँदै पश्चिमतिर बढ्नेछ,’ श्रेष्ठले भने । मनसुन करिव सय दिनसम्म रहनेछ । RSS