काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अहिले पार्टी केन्द्रीय कार्यालय बिपीनगरमा सुरु भएको छ। आजको बैठकमा वरिष्ठ नेता शेरबहादुर देउवा समेत सहभागी छन्। मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, संविधानसभा विघटनपछिको अवस्था, नयाँ निर्वाचन तोकिएको सन्दर्भ, कामचलाउ सरकारका कार्य र राष्ट्रिय सरकार गठनलगायतका विषयमा बैठकमा छलफल हुने केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जानकारी दिए।
उनका अनुसार बैठकमा नेकपा (एमाले)लगायतका अन्य साना दलसँगको सहकार्यमा भएको आन्दोलनलाई प्रभावकारी बनाउने, कामचलाउ प्रधानमन्त्रीको राजिनामा, मुलुकको राजनीतिक र संवैधानिक सङ्कटलगायतका विषयमा समेत छलफल हुनेछ।
पार्टीका भ्रातृसंस्था विघटनको विषयलाई लिएर नेतृत्वसँग रुष्ट भएको वरिष्ठ नेता शेरबहादुर देउवा पक्षको पनि सहभागिता रहेको बैठकले पार्टी एकताको सन्देश दिएको भन्दै पार्टी नेता तथा कार्यकर्ताले खुसी व्यक्त गरेका छन्।
लामो समयपछिको विवादलाई सम्बोधन गर्दै पार्टी सभापति सुशील कोइरालाले गत साता वरिष्ठ नेता देउवा पक्षलाई समेटेर नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दल, नेपाल महिला सङ्घ विस्तार गरेपछि पार्टीका सबै पक्ष एक ठाउँमा बसेर बैठकमा भाग लिने वातावरण बनेको हो। बैठकमा पार्टीका केन्द्रीय पदाधिकारी एवम् सम्पूर्ण केन्द्रीय सदस्यको उपस्थिति छ। रासस