पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्ध चलिरहेको भ्रष्टाचार मुद्दाको अर्को पेसी साउन १० गते

काठमाडौ  – पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्ध विशेष अदालतमा चलिरहेको मुद्दामा वादी/प्रतिवादी दुवै पक्षको बहस बुधबार सकिएको छ । हेर्दा हेर्दैको अर्को पेसी अब साउन १० गतेलाई तोकिएको छ । बहस जेठ २९ गतेबाट सुरु भएको थियो ।


मुद्दाको सुनुवाइ विशेष अदालतका अध्यक्ष न्यायाधीश गौरीबहादुर कार्की तथा सदस्य न्यायाधीशद्वय ओमप्रकाश मित्र र केदार चालिसेको इजलासमा भइरहेको हो ।


‘साउन १० गते मुद्दाको फैसला सुनाउन भ्याइँदैन आम्दानी खर्चको हिसाब किताब हेर्ने आदि काम मात्र हुन्छ,’ विशेष अदालतका रजिस्ट्रार धीरबहादुर चन्दले भने ।


जोशीले ३ करोड ९३ लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लगाउँदै उनीविरुद्ध अख्तियारले मुद्दा लगाएको थियो तर विषयमा प्रवेश नै नगरी विशेष अदालतका तत्कालीन अध्यक्ष न्यायाधीश भूपध्वज अधिकारी तथा सदस्य न्यायाधीशद्वय कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर राणाले हद म्याद नाघेको तर्क दिँदै मुद्दाको तथ्यभित्र प्रवेशै नगरी आरोपपत्र खारेज गरिदिएका थिए ।


विशेष अदालतले २०६३ कात्तिक ३० गते गरेको फैसलाविरुद्ध अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए ।


पुनरावेदन परेको पाँच वर्षपछि गत पुस २४ गते सर्वोच्च अदालतले तीन पटक गृहसहित ७ पटक मन्त्री भएका जोशीको मुद्दा उल्ट्याउँदै जो जे बुझ्नु छ बुझी तथ्यभित्र प्रवेश गरी ठहरेबमोजिम निर्णय गर्नु भन्दै मिसिल विशेष अदालतमा नै फिर्ता पठाउने आदेश गरेको थियो ।


जोशीविरुद्धको उक्त मुद्दामा उनीबाहेक उनका छोरा दिनेशराज जोशी, सासू नीरकुमारी पन्त, साला वासुदेव पन्त, ताराराज पाण्डे र रामकृष्ण तिवारी प्रतिवादी छन् । जोशीले कमाएको अवैध सम्पत्ति लुकाउन उनीहरू मतियार भएको अख्तियारको अभियोग छ । – कान्तिपुर