भविष्यका कर्णधार मानिने स्कूले विद्यार्थीहरु लागू औषधको शिकार हुने क्रम बढ्दै गएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
राजधानीमा मात्रै माध्यामिक तथा उच्च माध्यामिकका तहका १२ हजार विद्यार्थी लागू पदार्थको कुलतमा फसेको अनुमान गरिएको छ ।
लागू औषध दुव्र्यसन तथा अवैध ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा गोरखा भूतपूर्व सैनिक संघ, उपत्यका महिला समितिले आज राजधानीमा गरेको कार्यक्रममा नार्कोनन नेपालका अध्यक्ष बसन्त कुँवरले लागू औषधको अवैध बेचबिखन गर्नेहरुले सात कक्षादेखि प्लस टु का विद्यार्थीहरुलाइ शिकार बनाईरहेको बताउनुभयो ।
विद्यार्थीहरुलाई लागू पदार्थको कुलतबाट जोगाउन अभिभावकहरु आफै सचेत हुनुपर्नेमा जोड दिंदै उहाँले विद्यालयहरुमा लागू औषध सम्बन्धी शिक्षा अनिवार्य गरिनुपर्ने बताउनु भयो । कार्यक्रममा लागू औषध कानुन कार्यान्वयन इकाइका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक नवराज सिलवालले लागू औषध दुव्र्यवसन नियन्त्रणका लागि सरकार, समाज र निजी क्षेत्र एकसाथ लाग्नु पर्छ भन्नुभयो ।
कार्यक्रमका वक्ताहरुले दुव्र्यवसनीहरुका लागि खोलिएका सुधार गृहको पनि अनुगमन र नियमन गर्नुपर्नेमा जोड दिए । RSS