– उमाकान्त पाण्डे
घरको नक्शा प्रमाणित गर्ने काम लिएर २६ बैशाखको मध्यान्ह टण्टलापुर घाममा बुटवल- १३ कालिकानगरका रामबहादुर लम्साल नगरपालिका कार्यालय पुगे । गोजीबाट रुमाल निकालेर निधारबाट चुहिरहेको पसिना पुछ्दै नगरपालिका परिसरमा रहेको नागरिक बडापत्र टाँगेको बोर्डमा नियाल्दै गरेका उनले घरको नक्शा प्रमाणित गर्ने कोठा नम्वर भेटाउन सकेनन् ।
सर्वसाधारणको जानकारीको लागि नगरपालिकाले उपलब्ध गराउने सेवा बारे उल्लेख गरी नगरपालिका परिसरमा राखिएको नागरिक बडापत्र च्यातिएर पढ्न नसक्ने भएकोले लम्साल अलमलमा परेका हुन् । ँबडापत्र काम नलाग्ने भएको रहेछ केही बुझ्न सकिएन- उनले भने ।
लम्साल मात्रै होइन् नगरपालिका पुग्ने सबैजसो नागरिकले बडापत्रमा लेखिएको सबै कुरा बुझ्न सक्तैनन् । नागरिकले पाउने सेवा सुविधा बारे जानकारी दिन नागरिक बडापत्र बनाएर हरेक सरकारी कार्यालय परिसरमा राखिएको हुन्छ । सरकारी कार्यालयबाट जनताले पाउने सुविधा सरल र सहज ढंगले दिनको लागि सरकारले नागरिक बडापत्रको अवधारणा ल्याइ कार्यान्वयनमा ल्याएको हो । तर ती बडापत्र अहिले काम नलाग्ने भएका छन् ।
घर-सडक दुरी छुट्टयाएर प्रमाणित गर्न वडा कार्यालयको सिफारिस लिएर नगरपालिका कार्यालय पुगेका बुटवल-१२ रामनगरका पुरण श्रेष्ठले नागरिक बडापत्र देखावटी मात्र भएको बताए । नगरपालिका नागरिकप्रति जवाफदेही हुँदो हो त बडापत्रमा लेखेका पढ्न मिल्ने गरी राखिन्थ्यो होला-केही समय अघि लामो प्राध्यापन पेशाबाट अवकाश पाएका श्रेष्ठले भने ।
नागरिक बडापत्रमा लेखिएका कुरा बुझ्न नसकेपछि लम्साल कागजपत्र राखेको झोला झुण्ड्याउदै नगरपालिका कार्यालयको सूचना शाखा पुगे । सूचना शाखामा भएको एउटा कुसर्ी खाली भेटियो । सूचना शाखाकै दाँयातिरको एउटा कक्षमा फोटो गर्नेहरुको भीड देखेका लम्सालले त्यहाँ रहेकी महिला कर्मचारीलाई केही सोध्न सकेनन् ।
त्यहाबाट फनक्क फर्केर उनीहरु कोठा नम्वर सातमा रहेको सोधपुछ कोठामा पुगे । जनसम्पर्क धेरै हुने नगरपालिकाको सोधपुछ कक्ष मध्यान्हको समयमै सुनसान भेटाएपछि उनलाई आफ्नो काम हुने कोठा भेट्टाउन झन मुश्किल भयो । नगरपालिका छिरेपछि यता र उता गर्दागर्दै उनको एक घण्टाको समय त्यत्तिकै सकियो ।
उनी जस्तै नगरपालिकामा काम लिएर जाने सेवाग्राही दिनहुँ यसैगरी अलमलिएर समय खेर फाल्न बाध्य छन् । सबैतिर अस्तव्यस्त देखियो उनले भने ।
बुटवल नगरपालिकाले तीन वर्ष अघि नागरिक बडापत्रको बोर्ड नयाँ फेरेको हो । बोर्डमा लेखिएका कुरा स्पष्ट बुझ्न नसकिएको केही समय बितेपनि नयाँ राख्न नगरपालिकाका अधिकारीहरुले ध्यान दिएका छैनन् । नागरिकको लागि राखिएको हो भने पूरानो हुने बित्तिकै राख्नुपर्छ श्रेष्ठले भने ।
नागरिक वडापत्र सम्बन्धी निर्देशिका २०५५ का अनुसार कार्यालयले गर्ने काम कसरी कहा कसले कति शुल्क र समयमा गरिन्छ भन्नेबारे स्पष्ट हुनु जरुरी छ । आबश्यकता अनुसार कार्यालयले बडापत्रलाई परिमार्जित सगै नया बोर्ड राख्न सक्छ भन्ने निर्देशिकामा उल्लेख छ । निर्देशिकामा उल्लेख गरिए अनुसार सर्वसाधारण सेवाग्राहीलाई पायक पर्ने ठाउँमा यो राखिएको हुनुपर्छ र स्पष्ट हुनु अनिवार्य छ । निर्देशिकामा यस्तो कुरा उल्लेख भएपनि नगरपालिकाको बडापत्र औपचारिकतामा मात्रै सिमित भएको देखिएको छ ।
वडापत्र फेर्न धेरै रकम पनि लाग्दैन । फेर्न खोजेको केही दिनमा नै नयाँ राख्न सकिने समय पनि धेरै लाग्दैन । बुटवल नगरपालिकाका वरिष्ठ अधिकृत एवं नगरपालिकाका प्रवक्ता विष्णु खनालले बडापत्र पूरानो भएको स्वीकार गर्दै छिट्टै नयाँ राख्ने बताए ।
सूचना शाखा र सोधपुछ कक्षलाई व्यवस्थित गर्ने बारे नगरपालिकामा छलफल भइरहेको उनको भनाई छ । बुटवल नगरपालिकामा ७३ जना कर्मचारी छन । नगरपालिकामा रहेका यी कर्मचारी मध्ये खरिदार सरहका १४ जना छन् । यो तथ्याङ्क हेर्दा नगरपालिकामा कर्मचारी न्यून भएको देखिदैन । सोधपुछ कक्षमा रहेका कर्मचारी जनसम्पर्क कक्षमा सारिएको छ । खनालका भनाईमा सोधपुछ कक्ष र जनसम्पर्क कक्ष एउटै हो तर भित्तमा सोधपुछ कक्ष लेखिएकोले सर्वसाधारण अलमल परेका छन् । खनालले भने झैं जनसम्पर्क र सोधपुछ कक्ष एउटै हो भन्ने जानकारी नगरपालिका पुग्ने सर्वसाधारणले बुझ्दैनन् । सोधपुछ कक्ष मेटेर जनसम्पर्क कक्ष लेख्ने काम नगर्नु कमजोरी भएको उनले स्वीकार गरे ।
नगरपालिकामा भएका कमजोरीका यी केही उदाहरण मात्रै हुन् । प्रत्येक कक्षमा केही न केही समस्या भएकाले सेवाग्राहीले बेलैमा काम नहुने समस्या भोग्नु परेको एक कर्मचारीको भनाई छ ।
प्रवक्ता खनालले नगरपालिकामा केही कमजोरी भए सुधार गरेर अघि बढ्न नगरपालिका प्रशासन तयार रहेको बताए । कमजोरीबाट नै धेरै कुरा सिक्ने हो त्यसमा कुनै अप्ठारो लाग्दैन-उनले भने ।