काठमाडौ, असार १२ – प्रधानमन्त्री बाबुराम भट्टराईको निर्वाचन भएर अर्को संसद् आउँदासम्म आफ्नो राजीनामा नआउने धारणाप्रति विपक्षी दलहरूले कडा आपत्ति जनाएका छन् । आफू हटेमा माघ १९ को घटनाक्रम पुनरावृत्ति हुने भनी दिएको अभिव्यक्ति प्रधानमन्त्रीको सत्तालिप्साको पराकाष्ठा भएको उनीहरूको ठहर छ ।
प्रधानमन्त्रीले राजनीतिक र संवैधानिक शून्यताको फाइदा उठाएर सत्ता कब्जाको अभ्यास थालेको भन्दै विपक्षी दलहरूले राजनीतिक सहमतिविपरीत राजीनामा दिन्न भन्नु उनकै बालहठ रहेको बताए । राष्ट्रपति रामवरण यादवले कामचलाउ हैसियतमा रहेको जानकारी दिइसकेकाले प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने तर सहमतिका लागि भट्टराईले सत्ता छाड्नुपर्ने भनाइ उनीहरूको छ ।
पूर्वप्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘सत्तालिप्सा’ को संज्ञा दिएका छन् । ‘यो सत्तालिप्साको अभिव्यक्ति मात्र हो,’ उनले भने, ‘माघ १९ दोहोरिँदैन ।’ सरकार परिवर्तनका लागि एकीकृत माओवादी पनि तयार हुनुपर्ने उल्लेख गर्दै उनले त्यसपछि नयाँ संविधान जारी गर्ने वातावरण बन्ने दाबी गरे ।
कांग्रेस केन्द्रीय सदस्य रामशरण महतले प्रधानमन्त्री भट्टराई आफैं नहटेमा उनलाई हटाउन बाध्यकारी परिस्थिति निर्माण हुने बताए । ‘कामचलाउ प्रधानमन्त्रीको के राजीनामा माग्नु ? उनले सत्ता छाडेर सहमतिको बाटो खुला गरेनन् भने बाध्यकारी परिस्थिति आएपछि आफंै किनारा लाग्छन्,’ महतले भने, ‘तर कुनै प्रधानमन्त्रीले भोलि आफ्नै मृत्यु हुँदैछ भने पनि सत्ता छाड्छु भन्दैनन् । कुर्सीमै टाँसीराख्न खोज्छन् । बाबुराम पनि त्यस्तै प्रधानमन्त्री हुन् ।’
एमाले सचिव विष्णु पौडेलले प्रधानमन्त्रीको भनाइ राजनीतिक, संवैधानिक र रणनीतिक कुनै पनि दृष्टिले उपयुक्त नरहेको बताउँदै सहमतिका लागि बालुवाटार छाड्नुपर्ने बताए । ‘कामचलाउ हैसियतमा कुर्सीमा रहिरहने प्रधानमन्त्रीको मनसाय नै बालहठ हो,’ पौडेलले भने, ‘राष्ट्रपतिबाट कामचलाउ हैसियतमा रहेको जानकारी दिइसकेपछि पनि कुर्सीमा बसिराख्छु भन्नु राजनीतिक, रणनीतिक र संवैधानिक कुनै दृष्टिले मिल्दैन, तत्काल बालुवाटार छाडेर सहमतिको बाटो खुला गरिदिनुपर्छ ।’