चार महिनाअघि काठमाडौंको बबरमहलमा तीन जना मारिने गरी गराइएको बम विस्फोटको जिम्मेवारी सञ्चारमाध्यम मार्फत लिने देवराज लामा भनिने राजकुमार तामाङलाई प्रहरीले गएराति पाँचथरको लुङरुप्पा गाविसबाट नियन्त्रणमा लिएको छ । क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले आज पत्रकार सम्मेलन गरी तामाङलाई सार्वजनिक गरेको हो । पाँचथर गएपछि नेशनल उपनाम राखेका तामाङले किरात जनवादी वर्कर्स र माओवादीका पूर्व लडाकुसँग मिली संगठन विस्तार गरिरहेको प्रहरीले पत्रकार सम्मेलनमार्फत जनाएको छ ।
गत फागुन १५ गते बबरमहलस्थित नेपाल आयल निगम अगाडि भएको विस्फोटमा कृष्णबहादुर तामाङ, वीरबहादुर तामाङ र मानबहादुर तामाङ मारिएका थिए ।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले नुवाकोट ओखरपौवाका भीमबहादुर तामाङ, रामेछाप दर्गाका निमा दोर्जे तामाङ, हेटौडा पदमपोखरीका बुद्धिबहादुर गोले, धादिङ छत्रे देउरालीका प्रेम तामाङ, नौविसे धुसेनीका सागर लामा र धादिङ तसरपुरका सुरेश लामालाई नियन्त्रणमा लिइसकेको छ । पाँचथरमा बसेर तामाङले इलाम, झापा र पाँचथरमा थप विस्फोट गराउने योजना बनाइरहेको प्रहरीले जनाएको छ ।
तामाङको साथबाट विस्फोटक पदार्थ बनाउन प्रयोग हुने गन्धक, सोडालगायत कम्ब्याक्ट ड्रेस, माइन्यूट, दुई वटा मोवाइल र तीन वटा बैंकका एटीएम बरामद गरेको प्रहरीले जनाएको छ ।