सरकारले दलहरुबीच सहमति भए सहमतिकै आधारमा नभए वैकल्पीक उपायबाट भएपनि पूर्ण बजेट नै ल्याउने

काठमाडौं  । सरकारले दलहरुबीच सहमति भए सहमतिकै आधारमा नभए वैकल्पीक उपायबाट भएपनि पूर्ण बजेट नै ल्याउने बताएको छ । प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले बजेट नल्याए राजनीतिसँगै आर्थिक क्षेत्र पनि प्रभावित हुने भएकाले पूर्ण बजेट नै अनिवार्य रहेको बताएका छन् । 

 

बजेटका विषयमा छलफल गर्न गएको उद्योग बार्णिज्य महासंघको टोलीसँग प्रधानमन्त्री भट्टराईले सहमतिमै बजेट ल्याउने विषयमा दलहरुलाई दवाव दिन महासंघलाई आग्रह गरे । बजेट नियमित प्रक्रिया भएकाले सरकार कामचलाउ भइसकेकाले बजेट ल्याउन मिल्दैन भन्ने भनाईमा कुनै तुक नरहेको पनि प्रधानमन्त्रीले बताए ।

व्यावसायीहरुले सहमतिमै निजी क्षेत्रलाई समेट्ने गरि बजेट ल्याउन सुझाव दिएका थिए । बकरिव डेड घण्टा भएको छलफलमा प्रधानमन्त्रीले बजेट नल्याउदाका अप्ठ्याराका विषयमा प्रष्ट पारेका थिए । छलफलपछि प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार देवेन्द्र पौडेलले सरकार सहमतिमा बजेट ल्याउने प्रयत्नमा रहेको र सहमति नभए वैकल्पीक बाटोमा जाने बताए । उद्योग बार्णिज्य महासंघका अध्यक्ष सुरज वैद्यले बजेटका विषयमा अब महासंघले दलहरुसँग छलफल सुरु गर्ने बताए ।


देश विकास, आर्थिक सम्वृद्धिका लागि आफू सधैं प्रतिवद्ध रहेको बताउँदै उनले यसो भएमा मात्र गरिवी, वेरोजगारी असमानता जस्ता विषयको अन्त्य हुने औल्याए । दुई अंकको आर्थिक बृद्धिलाई पच्छ्याउनु पर्नेमा जोड दिंदै प्रधानमन्त्रीले आर्थिक विकासको नेतृत्व नीजि क्षेत्रले गर्न जरुरी भएको बताए । सरकार र नीजि क्षेत्रबीच एक आपसमा सहकार्य गरेर अगाडि बढ्नु पर्नेमा उनले जोड दिए ।


बजेटको कुरामा धेरै अल्मलिन नहुने बताउँदै प्रधानमन्त्रीले पूर्ण बजेटनै ल्याउनु पर्ने बताए । बजेटको विषयमा अन्य दलहरुको पनि त्यति धेरै फरक मत नभएको उनको भनाइ थियो । राजनीतिक सहमतिमा अध्यादेश मार्फतनै बजेट ल्याईने पनि प्रधानमन्त्रीले बताए । उद्योग कलकारखाना बन्द हुने कुरा चिन्ताको विषय भएको बताउँदै उनले बन्द उद्योग खुलाउन राज्यले सबै पहल गर्ने उल्लेख गरे – RSS