अवकास प्राप्त माओवादी लडाकुहरु नेकपा माओवादी(बैद्य पक्ष) तर्फ

परासी – अवकास प्राप्त माओवादी लडाकुहरु मध्ये अधिकांस नेकपा माओवादी(बैद्य पक्ष) तर्फ संगठित हुन थालेका छन् । संस्थापन पक्षको कृयाकलाप प्रति असन्तुष्ट रहँदै आएका लडाकुहरु खुलेरै संगठित हुन थालेका हुन् ।


गाउँ गाउँमा छरिएर रहेका पूर्व लडाकु साथीहरुसँग भेटघाट तिब्र पारिएको हाल जिल्ला स्वम्सेवकका जिल्ला अध्यक्ष पदम केसी (जुझारु)ले बताए । कम्पनी कमाण्डर भन्दा माथिका सबै लडाकु साथीहरुलाई संगठित गरिसकिएको बताउँदै उनले केन्द्रको निर्देशन आउने वित्तिकै त्यसलाई औपचारिक रुपमा घोषणा गरिने उनले जनाए ।


केही साथीहरुलाई पार्टी जिल्ला कमिटिमै समावेश गराइएको उनले जनाए । जिल्ला कमिटिमा हाल १३ जना लडाकुहरुलाई पठाइएको छ, उनले भने, ‘तल्ला तहका लडाकुलाई कुन-कुन स्तरमा राखिने केन्द्रको निर्णय पर्खेर बसेका छौं ।


जिल्लाका कुल २२ वटा वर्गीय संगठनहरु मध्ये १६ वटा संगठनहरु बैद्य पक्ष तर्फ लागेको र अन्य संगठनका अधिकांस सदस्यहरु पनि आफ्नो पार्टी तर्फ आवद्ध हुँदै आएको जानकारी गराए ।

 

कान्तिपुर