भारतमा आगामी जुलाई १९ मा हुने राष्ट्रपति पदका लागि वरिष्ठ राजनीतिज्ञ प्रणव मुखर्जीले हिजो उम्मेदवारी दर्ता गराउनु भएको छ । सत्तारुढ गठबन्धन दलहरुको साझा उम्मेदवारका रुपमा उहाँले उम्मेदवारी दिनुभएको हो ।
भारतीय जनता पार्टी र राष्ट्रिय जनतान्त्रिक गठबन्धनको तर्फबाट संसद्का पूर्व सभामुख पीए संगमा प्रतिष्पर्धीका रुपमा मैदानमा छन् । तर, सतारुढ गठबन्धनमा सामेल तृणमूल कंग्रेसले आफ्नो पक्ष स्पष्ट गरेको छैन । तर विपक्षी गठबन्धनमा रहेका जनता दल यूनाइटेड र शिव सेनाले मुखर्जीलाई समर्थन गरेका छन् । संगमा सत्तारुढ गठबन्धनको प्रमुख घटक दल राष्ट्रवादी कंग्रेस पार्टीबाट राजनीनामा दिएर चुनावी मैदानमा उत्रेका हुन् ।
मनोनयन पत्र दर्ता गराउने क्रममा मुखर्जीका तर्फबाट प्रधानमन्त्री मनमोहन सिंह, कंग्रेस अध्यक्ष सोनिया गान्धी, समाजवादी पार्टीका अध्यक्ष मुलायमसिंह यादव, राष्ट्रिय जनता दलका प्रमुख लालुप्रसाद यादव र राहुल गान्धीलगायत राजनीतिक हस्ती सहभागि थिए ।
अर्कातिर संगमाका तर्फबाट भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवाणी, लोकसभामा विपक्षी नेता सुष्मा स्वराज र जनता पार्टीका अध्यक्ष सुब्रह्मण्य स्वामीलगायत उपस्थित थिए ।