पाकिस्तानका प्रधानमन्त्री राजा परवेज अशरफले राष्ट्रपति आसिफ अली जर्दारी पदमा रहुञ्जेल उहाँ विरुद्ध मुद्दा चलाउन नसकिने बताउनु भएको छ । पाकिस्तानको सर्वोच्च अदालतले स्वीट्जरल्याण्डका अधिकारीहरुलाई राष्ट्रपति जर्दारी विरुद्ध भ्रष्टाचारको मामिलामा पुनः अनुसन्धान गर्न प्रधानमन्त्रीले आग्रह गर्ने नगर्ने सम्बन्धमा जानकारी लिन खोजिरहेको बेला अशरफको यो भनाई आएको हो ।
असरफले राष्ट्रपति जर्दारीमाथि मुद्दा चलाउन नसक्ने वताएपछि पाकिस्तानमा फेरि कार्यपालिका र न्यायपालिकाबीच टकरावको पुनरावृति हुने अनुमान गरिएको छ । जर्दारी विरुद्ध मुद्दा चलाउन दिएको आदेश कार्यान्वयन नगरेपछि अदालतले पूर्व प्रधानमन्त्री युसुफ रजा गिलानीलाई पदमुक्त गरेको थियो ।
गिलानीले लाखांै डलर घुस खाएको सम्बन्धि आरोपमा राष्ट्रपति जर्दारीविरुद्ध पुनः अनुसन्धान गर्न अदालतले दिएको आदेश अस्वीकार गर्नु भएको थियो । लाहौरमा पत्रकाहरुसंग कुरा गर्दै नयाँ प्रधानमन्त्री अशरफले जर्दारी लोकतान्त्रिक ढंगबाट राष्ट्रपति बनेको र कानुनतः पदमा रहेसम्म उहाँं विरुद्ध मुद्दा चलाउन नसकिने स्पष्ट पार्नु भयो ।
प्रधानमन्त्री अशरफले सर्वोच्च अदालतमा आफुले राष्ट्रपतिलाई दिईएको संवैधानिक छुटका विषयमा धारणा राख्ने बताउनु भयो । जर्दारी विरुद्ध सन १९९० को दशकमा घुसखोरीको आरोप लागेको थियो । तर सन् २००८ मा राष्ट्रपति बनेपछि स्वीस अधिकारीहरुले जर्दारीविरुद्धको मुद्दा निस्क्रिय बनाएका थिए ।