शान्ति तथा पुनःनिर्माणमन्त्री टोपबहादुर रायमाझीद्धारा विनाविकल्प वर्तमान सरकार नहट्ने स्पष्ट


 

काठमाडौं – शान्ति तथा पुनःनिर्माणमन्त्री टोपबहादुर रायमाझीले विनाविकल्प वर्तमान सरकार नहट्ने बताएका छन्। उनले सडकबाट राजीनामा माग्दैमा सरकार नहट्ने स्पष्ट पारे। राष्ट्रिय सरकारका लागि माग गरिएको हो भने विकल्पसहित छलफलमा आउनुपर्ने उनको तर्क थियो।


राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री रायमाझीले सडकबाट राजीनामा माग्नु प्रतिपक्षको धर्म भए पनि प्रधानमन्त्रीले विना विकल्प राजीनामा नदिने बताए।


उनले नेपाली कांग्रेस र नेकपा एमालेलगायतका दलहरूले देशलाई अनिर्णयको बन्दी बनाउन खोजेको आरोप लगाउँदै यही सरकारले दलहरूको सहमतिबाटै पूर्ण बजेट ल्याउने दृढता व्यक्त गरे।


नेकपा (एमाले)की उपाध्यक्ष विद्यादेवी भण्डारीले संविधान सभाको विघटन भइसकेको अवस्थामा दलहरूबीच सहमतिको विकल्प नभएको बताउँदै एमालेले अबको प्रधानमन्त्रीको उम्मेदवारमा नेता केपी शर्मा ओलीलाई अघि सार्ने बताए।

नेकपा-माओवादीका सचिव देव गुरुङले यथास्थितिमा संविधान सभाको नयाँ निर्वाचन वा पुनःस्थापन दुवै सम्भव नभएकाले दलहरूको सहमतिमा गोलमेच सम्मेलन गर्नुपर्ने बताए।


नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामशरण महतले सर्वदलीय सरकार गठनको मार्ग प्रशस्त गर्न वर्तमान सरकार हट्नुपर्ने बताए। रासस