विश्वमा बढ्दो हतियारको ब्यापार नियन्त्रण गर्ने उद्देश्यले अमेरीकाको न्युयोर्कमा हुने भनिएको राष्ट्रसंघीय सम्मेलनमा ढिलाई

विश्वमा बढ्दो हतियारको ब्यापार नियन्त्रण गर्ने उद्देश्यले अमेरीकाको न्युयोर्कमा हुने भनिएको राष्ट्रसंघीय सम्मेलनमा ढिलाई भएको छ । सम्मेलनमा पर्यवेक्षकको रुपमा उपस्थित भएको प्यालेस्टाईनी टोलीको हैसियतमाथि केही सहभागिले प्रश्न उठाएपछि सम्मेलनमा ढिलाई भएको हो ।


विश्वमा बढ्दो हातहितयारको व्यापारमाथि नियन्त्रण गर्न विश्वव्यापी सन्धि गर्नुपर्नेमा राष्ट्रसंघले जोड दिंदै आएको छ । सन्धिपछि हतियार कारोबार तथा ओसारपसारसम्बन्धि दुई पक्षीय तथा वहुपक्षीय सन्धिहरुमाथि नियन्त्रण र अनुगमन गर्नसक्ने बताइएको छ । विश्वमा सबैभन्दा धेरै हतियारको व्यापार गरिरहेको अमेरीकालेसमेत पछिल्लो समय सन्धि गर्न सहमति जनाएपछि न्युयोर्कमा विश्वका शक्ति राष्ट्रहरु भेला भएका हुन् ।

चीन, ईजिप्ट, सिरीयालगायतका राष्ट्रले भने सन्धि गर्नुभन्दा पहिला हातहतियार र आणविक शस्त्रअस्त्रको स्पष्ट परिभाषा गर्नुपर्ने बताएका छन् । साना हतियार तथा बारुदको कारोबारमाथि जबर्जस्ती नियन्त्रण गर्न नहुने पक्षमा चीन छ । तर युरोपीयन राष्ट्रहरु भने जतिसक्दो छिटो सन्धि गर्नुपर्ने पक्षमा छन् । विश्वमा हाल वार्षिक ७० अर्बभन्दा बढीको हातहतियारको ब्यापार भइरहेको छ ।


अवैध साना हतियारको कारण वर्षेनी ७ लाख ५० हजार मानिस मारिने गरेको बताइन्छ । मानवअधिकारको क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय संस्थाहरु एम्नेष्टी ईन्टरनेशनल र अक्सफामले ६ वर्षसम्म चलाएको अभियानपछि राष्ट्रसंघले हतियारको व्यापार नियन्त्रणसम्बन्धि विश्वव्यापी महासन्धि गर्न लागेको हो ।