रौतहटमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु, चार जना घाइते

– राजेश चौधरी

 

प्रहरीको गोली लागेर रौतहटको गरुडा बजारमा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा लक्ष्मीपुर ६ का स्थानीय रमुद प्रसाद जैसवाल रहेका छन् । गोली लागेर घाइते हुनेमा बिरुधी राय यादव, राजेश यादव, दिनेश यादव र राकेश साह रहेका छन् । घाइते मध्ये गम्भीर अवस्थामा रहेका बिरुधी राय यादवलाई थप उपचारको लागि बीरगञ्ज लगिएको छ ।

 

गत असार १४ गते भएको सडक दुर्घटनामा स्थानीय राम श्रेष्ठ राउतको मृत्यु भएको विषयमा विरोधमा उत्रीएकाहरुमाथि प्रहरीले गोली चलाएको हो । दोषीलाई अहिलेसम्म कारवाही नगरेको भन्दै आज स्थानीयवासीले इलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका थिए ।

 

सयौंको संख्यामा आएका स्थानीयवासीले एक्कासी ढुंगामुडा गर्नुको साथै गोली समेत चलाएपछि आफुहरु बाध्य भएर प्रतिरक्षामा उत्रनु परेको प्रहरीले जनाएको छ ।

त्यस्तै, सिरहामा प्रहरी दमनको बिरोध गर्दै व्यापारीले पूर्व पश्चिम महेन्द्र राजमार्गको लाहानमा चक्काजाम गरेका छन् । लहानस्थित बिशाल होटलमा गएराती प्रहरीले मदिरा सेवन गरेर होटल सञ्चालक र कर्मचारीलाई कुटपीट गरेका थिए ।

 

कुटपीटबाट होटल सञ्चालक निरज चौधरीको टाउकोमा गम्भीर चोट लागेको छ । घटनाको बिरोध गर्दै जिल्लाका व्यापारीहरु बिरोधमा उत्रिएका हुन् । उनको लहानमा उपचार भईरहेको छ ।