चिकित्साशास्त्र अध्ययन संस्थानमा करिब नौ महिनादेखि रिक्त डिन, तीनजना सहायक डिन, क्याम्पस चिफ, सहायक क्याम्पस चिफ लगायतका पदमा पदाधिकारी नियुक्तिबारे सरकारले चासो दिएको छैन । अधिकारीहरूका अनुसार दलीय भागबण्डा नभई क्षमताका आधारमा नियुक्ति गर्नुपर्ने अडानमा चिकित्सकहरू छन् । निष्पक्ष नियुक्तिका लागि केसीले थालेको आन्दोलनमा रेजिडेन्ट चिकित्सकले पनि समर्थन गरेका छन् ।
अनशनरत प्रा.डा. केसीले रिक्त पदाधिकारी नियुक्ति भागबण्डाका आधारमा नभई योग्यता, वरिष्ठता र दूरदर्शी योजना बनाउन सक्ने सक्षम व्यक्ति प्रतिस्पर्धाका आधारमा नियुक्त हुनुपर्ने, धाँधली, भ्रष्टाचार, अनियमितता र पदको दुरुपयोगमा दोषी पाइएका संस्थानका हाल पदमुक्त डिन लगायतका उच्च पदाधिकारीलाई कारबाहीका साथै पुनः नियुक्तिका लागि अयोग्य ठहर गर्नुपर्ने माग अघि सारेका छन् । उनले त्रिविका उपकुलपतिलगायत जिम्मेवार पदाधिकारीको राजीनामासमेत माग गरेका छन् ।
कर्मचारीले पनि नियमित काम बन्द गरेर अस्पताललाई असहयोग गरी पदाधिकारी नियुक्तिको दबाब दिएका छन् । ‘अहिले इमर्जेन्सीबाहेकका कुनै पनि सेवा चलेका छैनन्,’ शिक्षण अस्पतालका निमित्त निर्देशक डा.विमल सिन्हाले शनिबार कान्तिपुरसँग भने, ‘आइतबारदेखि इमर्जेन्सी सेवा चलाउनसमेत गाह्रो छ, रेजिडेन्ट चिकित्सकले काम नगरे आकस्मिक सेवा पनि चलाउन सकिँदैन ।’
अस्पतालमा दिनहुँ करिब दुई सयजना आकस्मिक उपचारका लागि आउँछन् भने बहिरंग विभागबाट उपचार गराउनेहरूको संख्या एक हजार पाँच सयभन्दा बढी हुने गरेको अस्पतालका निमित्त निर्देशक डा.सिन्हा बताउँछन् । ‘इमर्जेन्सी मात्रा चलाएर हँुदैन, अन्य काममा पनि सहयोग नभए इमर्जेन्सीमात्रै चलाउनुको अर्थ हुँदैन,’ डा.सिन्हा भन्छन्, ‘अस्पतालको ८० प्रतिशत काम रेजिडेन्ट चिकित्सकहरूले नै गर्ने हो । उनीहरूले काम नगरिदिए सेवा नियमित गर्न सकिँदैन ।’ संस्थानमा करिब पाँच सय चिकित्सक छन् ।
संस्थानको नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसनले प्रा.डा.केसीको मागप्रति ऐक्यबद्घता जनाएको छ । एसोसिएसनका अध्यक्ष डा.बद्री रिजालले भने, ‘अहिलेको अवस्थामा आफ्नो प्राध्यापक आमरण अनशनमा बसेका बेला हामी पठनपाठन लगायतका काम सुचारु गर्ने स्थितिमा छैनौं ।’ अस्पतालमा भने करिब तीन सय ५० जना रेजिडेन्ट चिकित्सक छन् ।
चिकित्सक डा.गोविन्द केसीले चार दिनदेखिको आमरण अनशन तोडे
हाडजोर्नी विभागका चिकित्सक डा.गोविन्द केसीले अस्पतालका कुचीकारका हातबाट जुस खाएर चार दिनदेखिको आमरण अनशन तोडेका छन्। अस्पतालका चिकित्सक, कर्मचारी र नर्सिङ स्टाफको उपस्थितिमा उनले अस्पतालका कुचीकार मोहन नेपाली र रेजिडेन्ड चिकित्सक एसोसियासनका अध्यक्ष डा. बद्री रिजालले संयूक्त रुपमा जुस खुवाएर अनसन तोडाएका हुन्।