अफगानिस्तानका राष्ट्रपति हमिद कारजाईले तालिवानको पतनपछिको राजनीतिक र आर्थिक विकासलाई सुरक्षित बनाउन अन्तर्राष्ट्रिय सहयोगीहरुको निरन्तर सहयोगको आह्वान गर्नुभएको छ । अफगानिस्तानबाट सन् २०१४ मा विदेशी सेना फिर्ता भएपछि उसलाई कसरी सहयोग गर्ने भन्ने विषयमा टोकियोमा जारी सम्मेलनमा कारजाईले यस्तो आग्रह गर्नु भएको हो ।
धनी मुलुकहरुले भने अफगानिस्तानलाई आउँदा चार वर्षभित्र १६ विलियन अमेरिकी डलर सहयोग दिन राजी भएका छन् । दातृ राष्ट्रहरुले अफगान सरकारका तर्फबाट भजे सुशासन र पारदर्शिताको प्रत्याभुति खोजेका छन् । अफगानी अर्थतन्त्र अन्तर्राष्ट्रिय विकास र सैन्य सहयोगमा आश्रित छ ।
सम्मेलनमा बोल्दै संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले अफगानिस्तानको विकास गति अत्यन्त सुस्त भएको टिप्पणी गर्नु भयो । अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले भने अफगानिस्तानले प्राप्त गरेको उपलब्धी सुनिश्चित गर्न सुधार आवश्यक भएकोमा जोड दिनु भयो । यता नेटो सेनाको फिर्तीपछि अफगानिस्तानको अवस्था फेरि भयावह हुन सक्ने आशंका पनि केही मुलुकले गरेका छन् ।
यसैबीच अफगानिस्तानको कान्दाहार प्रान्तमा रोड छेउ राखिएको बम विष्फोट गराइदा १४ सर्वसाधारण मारिएका छन् । उनीहरु ट्रायाक्टर र भ्यानमा सवार रहेको प्रहरीले जनाएको छ । विष्फोटमा केही सर्वसाधरण घाइते भएका छन् ।