राजनीतिक संकटको फाइदा लिँदै ज्ञानेन्द्रले देशभर चाहरेर राजसंस्था व्युताउने प्रयास गरेको एमाले अध्यक्ष खनाल आरोप

उमाकान्त पाण्डे गाउंले 

 

नेकपा एमाले अध्यक्ष झलनाथ खनालले पूर्व राजा ज्ञानेन्द्र शाह धमिलो पानीमा माछा मार्दै हिँडेको आरोप लगाएका छन् । सेती अञ्चल स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा धनगढी पुगेका खनालले राजनीतिक संकटको फाइदा लिँदै ज्ञानेन्द्रले देशभरका चाहरेर राजसंस्था व्युताउने प्रयास गरेको बताए।   

 

‘देशका मन्दिर चाहर्दैमा फेरी राजसंस्था आउँदैन,’ उनले भने ।



उनले ज्ञानेन्द्रको नियत नै ठिक नभएको बताउँदै फेरी सत्तामा आउने दिवा सपना नदेख्न चुनौति दिए । ‘देशका केही ठाउँमा अलिकति भीड जम्मा गरेर ‘राजा आउ देश बचाउ’ भन्ने नारा लगाउँदैमा राजतन्त्र आउँदैन,’ उनले भने, ‘उनी कस्तो अवसर पारेर राजा भएक थिए सबैलाई छर्लङ्ग भएको कुरा हो ।’



पूर्व राजा ज्ञानेन्द्रले देशी र विदेशी राजावादी तत्वको खेलमा राजनीति गर्न लागेको उनले आरोप लगाए ।



यसैगरी खनालले नेकपा एमाओवादीले गर्दा देश संकटमा फसेको आरोप लगाए । उनले माओवादी लचक नहुँदा सबै राजनीतिक दलहरुबीचको खाडल बड्दै गएको पनि बताए । ‘माओवादी देशप्रति चिन्तित छैन,’ उनले भने, ‘यसको लागि माओवादीले नै अग्रसरता देखाए देशले निकास पाउँथ्यो ।’


अहिलेको सरकार संवैधानिक नभएको भन्दै उनले सबै राजनीतिक दलहरुसँग सहमित गरेर मात्रै प्रधान मन्त्री बाबुराम भट्टराईले चुनाव गर्ने वा संविधानसभा पुनर्स्थापना गर्ने भन्ने टुंगो लागउनु पर्ने बताए । सरकारलको हैसियत नभएकोले वालुवाटार र सिंहदरबारबाट हट्नुपर्ने उनले माग गरे ।