राष्ट्रपति डा. रामबरण यादवले भारतीय स्थल सेनाध्यक्ष जनरल विक्रम सिंहलाइ नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु भएको छ । राष्ट्रपति भवन शितल निवासमा बुधबार अपरान्ह आयोजित विशेष समारोहमा राष्ट्रपति यादवले सिंहलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह, खड्ग र प्रमाणपत्र प्रदान गर्नु भएको हो । कार्यक्रममा उपराष्ट्रपति परमानन्द झा, प्रधानसेनापति छत्रमान सिंह गुरुङ र नेपाली सेनाका उच्च पदस्थ अधिकृतहरुको उपस्थिती रहेको थियो । नेपाली र भारतीय सेनाका प्रमुखलाई एकअर्का देशका सेना प्रमुखको प्रधान सेनापतिको मानार्थ दर्जा प्रदान गर्ने परम्परा रहेको छ ।
सन् १९५० देखि भारतीय सेनाध्यक्षहरुलाई नेपालले मानार्थ महारथी दर्जाले सम्मानित गरिदै आएको छ । केही समयअघि मात्रै भारतीय सेनाको सेनाध्यक्षमा नियुक्त हुनु भएका जनरल सिंह पहिलो भ्रमण नै नेपाल आउनु भएको हो । यस अघि भारतीय सेनाध्यक्षहरु आफ्नो कार्यकालको अन्तिम समयमा मात्र नेपाल भ्रमणका लागि आउने गदर्थे ।
भ्रमणका क्रममा सिंहले भगवान वुद्धको जन्मस्थल लुम्बिनी, जोमसोमस्थित सैनिक उच्च शिखर शिक्षालय, पश्चिम पृतनाको मुख्यालय र वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण तथा अवलोकन गर्ने पनि सेनाले जनाएको छ ।
साथै सिंहले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा शिक्षार्थीहरुलाई विशेष सम्बोधन समेत गर्नुहुनेछ । – RSS