ध्रुव दंगाल, रासस
सिन्धुपाल्चोक – अन्लाईन संचारमाध्यमहरुमा प्रकासित समाचार अनुसार छ किशोरीको बेचबिखन मुद्दामा सिन्धुपाल्चोक जिल्ला अदालतले बजिरसिंह तामाङलाई १ सय ७० वर्ष कैद सजाय सुनाएको छ। अदालतले उनलाई १३ लाख जरिवाना र पीडित चेलीलाई जनही १ लाख ५० का दरले ९ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसलासमेत गरेको छ।
समाचार अनुसार बुधबार पाँच घन्टा लामो अन्तिम बहसपछि जिल्ला न्यायाधीश अनन्तराज डुम्रेको इजलासले मानव बेचविखन तथा ओसारपसार विरुद्धको ऐन २०६४ को दफा १५ (१) को ‘क’ र ‘ख’ बमोजिम मानव किनेको, बेचेको तथा दफा १५ (५) अनुसार वेश्यावृत्तिमा लगाएको छुट्टाछुट्टै दुईवटा अभियोग पुष्टि गर्दै यस्तो फैसला सुनाएको हो।
सिन्धुपाल्चोक, शिखरपुर-९ का ३७ वर्षीय तामाङ पटक-पटक मानव बेचविखनमा संलग्न पाइएकाले दफा १५ (५) को पटके माग दाबीबमोजिम थप सजाय हुने फैसलामा उल्लेख छ। भारतको आग्रा सहरस्थित सहिद नगरमा कोठीसमेत चलाएका तामाङ प्रमुख अभियुक्त अदालतको ठहर छ।
गाउँ र आसपासका १४-१९ वर्ष उमेर समूहका चौतारा-बी, ई, एफ, जी, जे र एल (प्रहरीले दिएको नाम) लाई बेचेको अभियोगमा २०६७ मंसिर १४ गते पक्राउपछि जिल्ला अदालतको आदेशमा फागुनदेखि तामाङ पुर्पक्षमा थुनामा थिए।
चौतारा-ई र एफको मुद्दामा उनलाई जनही ४० वर्ष कैद, २ लाख ५० हजार जरिवाना, चौतारा-बी र एलको मुद्दामा जनही २० वर्ष कैद, २ लाख जरिवाना र चौतारा-जी र जेको मुद्दामा जनही २५ वर्ष कैद र २ लाख रुपैयाँ जरिवानाको दरले फैसला भएको हो। तामाङले सबै पीडितलाई जनही डेढ लाखको दरले क्षतिपूर्ति उपलब्ध गराउनुपर्नेछ।
ऐनको दफा १५ (१) को ‘क’ मा ‘मानव किन्ने, बेच्नेलाई २० वर्ष कैद र २ लाख जरिवाना’को व्यवस्था छ। ‘ख’ मा ‘कुनै फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउनेलाई कसुरको मात्राअनुसार १०-१५ वर्ष कैद र ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने’ व्यवस्था छ।
यस्तै पटके कसुरदारलाई दफा १५ (५) बमोजिम ‘कसुर प्रमाणित भएको सजायको एक चौथाइ थप सजाय हुने’ कानुनी व्यवस्था छ। तामाङ पटक-पटक बेचविखनमा संलग्न भएको पुष्टि भएकाले यो दफाअनुरुप थप सजायको फैसला सुनाइएको हो।
त्यस्तै बेचविखनमा सघाएको अभियोग पुष्टि गर्दै टेकबहादुर विकलाई साढे १२ वर्ष कैद र ३ लाख ५० हजार जरिवाना तथा सुकुमान दोङलाई साढे १६ वर्ष कैद सजाय र ३ लाख जरिवाना हुने फैसला भएको छ।
नवलपुर गाविसका विके चौतारा-ई, एफ र जी तथा बाँसखर्कका दोङ चौतारा-बी, जे र एल बेचविखनमा संलग्न रहेको ठहर गर्दै अदालतले मतियारको रुपमा फैसला सुनाएको हो। विक पोहोर र दोङ परार पक्राउ परेका थिए।
सबै मुद्दाका अन्य पाँच आरोपी नवलपुरका टेकबहादुरकी श्रीमती काइँली विक, बच्चु विक/श्रीमती सीता विक, दावा तामाङ/श्रीमती माइली तामाङ अझै फरार छन्। उनीहरुको मुद्दा मुल्तवीमा राखिएको अदालतले जनाएको छ।
लेबनान लगेर जागिर लगाइदिने र पढाइदिने प्रलोभनमा पारेर बजिरसिंह समूहले विभिन्न समयमा किशोरीलाई भारत लगेर बेचेका थिए। जिल्ला अदालतबाट मानव बेचविखन मुद्दामा यति धेरै कैद सजाय भएको पहिलोपटक हो।
फरक-फरक समयमा उनीहरु सबैलाई २०६४ सालमा भारत पुर्या इएको थियो। कोठी धाउने ग्राहकको सहयोगमा सुरुमा फर्कन सफल चौतारा-बीका अनुसार बजिरसिंहसहितको समूहले २०६४ माघमा उनीसहित एकैपटक सात युवतीलाई भारत लगेका थिए।
यसमा उनीहरुले आफ्नै खर्चमा पासपोर्ट बनाइदिएका सिन्धुपाल्चोकका पाँच चेली थिए। उनीहरुमध्ये पाँचजना फर्कन सफल भएका छन्। ओखलढुंगाकी एक युवती आफ्नै जिल्लामा मुद्दा लडिरहेकी छन्।
अझै सम्पर्कमा नआएकी एक युवती अभियुक्त टेकबहादुरकी छोरी हुन्। उनी आफ्नै बाबुद्वारा बेचिएकी हुन्।
बजिरले जागिर लगाइदिने भन्दै लगेका छोरीचेली बेपत्ता भएको भन्दै आफन्त बेचविखनविरुद्धको क्षेत्रमा क्रियाशील संघ, संस्था र प्रहरीमा लिखित र मौखिक रुपमा गुनासो गर्न आउने क्रम अझै रोकिएको छैन।
तीन साताअघि जिल्ला अदालतमा अन्तिम बयान भइरहेका बेला भोटेनाम्लाङका एक वृद्ध आफ्नी छोरी फर्काइदिन अनुनय गर्दै बजिर भेट्न आइपुगेका थिए। २०६५ जेठमा बजिरसहित तीनजनाले लेबनानमा जागिर लगाइदिने भन्दै लगेका २५ वर्षीया छोरी अझै घर नफर्केको उनले बताए।
पीडित पक्षका कानुन व्यवसायीले बहसका क्रममा बजिर समूहले जिल्लाकै मात्रै २६ युवती भारत लगेर बेचेको जिकिर गरेका छन्।