डेंगुबाट बच्न आजदेखि बुटवलमा खोज र नष्ट गर अभियान

– कृष्ण खनाल

 

बुटवल असार २८ । बर्षातको सुरुसँगै लामखुट्टेको टोकाईबाट सर्ने डेंगु ज्वरोको प्रकोप नियन्त्रणका लागि आजदेखि बुटवलमा खोज र नष्ट गर अभियान सुरु हुने भएको छ ।

 

जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देही र बुटवल नगरपालिकाले संयुक्तरुपमा बुटवलका १५ वटै वडामा यस्तो अभियान साचालन गर्न लागेका हुन् । दुई वर्षअघि बुटवल चितवनपछि डेंगुबाट प्रभावित दोस्रो शहर थियो । त्यसयता यसको प्रकोप कम हुँदै गए पनि बुटवल डेंगुको संक्रमणबाट उच्च जोखिममा रहेको विज्ञहरुले औंल्याएका छन् ।

 

जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देही र बुटवल नगरपालिकाको आयोजनामा बिहीबार बुटवलमा भएको डेंगु नियन्त्रणका लागि सरोकारवालाहरुको भूमिका विषयक अभिमुखीकरण कार्यक्रममा सहभागीहरुले डेंगुको संक्रमण नियन्त्रणका लागि नगरबासीहरुमा व्यापक सन्देश प्रवाह गर्नुपर्ने खाँचो औंल्याएका छन् ।


बुटवल नगरपालिकाले आजदेखि तीन दिनसम्म साचालन हुने खोज र नष्ट गर अभियानमा आवश्यक जनशक्ति उपलब्ध गराउन जिल्ला जनस्वास्थ्य कार्यालयलाई अनुरोध गरेको छ । साथै नगरपालिकाले यो अभियानमा साथ दिन नगरका टोल विकास संस्थाहरु महिला स्वास्थ्य स्वयंसेविकालगायत नेपाली सेनालाई समेत आग्रह गरेको छ ।

 
कार्यक्रममा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदार साहले कुनै खास उपचार नभएको डंेगु ज्वरो पछिल्ला बर्षहरुमा महामारीकै रुपमा देखिन थालेको भन्दै सजगताको खाँचो औल्याउनुभयो ।

 

उहाँले ज्वरो आउने अत्याधिक टाउको दुख्ने आँखाको गेडी तथा पछिल्लो भाग दुख्ने ढाड जोर्नी र मांशपेशीहरु दुख्ने शरिरमा बिमिरा आउनेलगायतका लक्षणहरु देखिएमा डेंगु संक्रमण हुनसक्ने भन्दै त्यसबाट बच्न पानी जम्न सक्ने भाँडाहरुमा पानी जम्न नदिने लामखुट्टेको वृद्धि रोक्नुपर्ने जस्ता उपाय अपनाउनुपर्ने बताउनुभयो ।


बुटवल नगरपालिकाका वरिष्ठ अधिकृत भुवाप्रसाद लुईंटेलले डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाईबाट जोगिनु नै सबैभन्दा राम्रो उपाय भएको भन्दै यसका लागि नगरबासीहरु स्वयं सचेत हुनुपर्ने बताउनुभयो ।