लण्डन ओलम्पिकको लागि सुरक्षाको जिम्मेवारी पाएको नीजि कम्पनी जि फोर एसले मात्रै यथेष्ठ सुरक्षा प्रवन्ध मिलाउन नसक्ने भएपछि बेलायत सरकारले ओलम्पीकको लागि थप सेना खटाउने भएको छ । प्रतियोगितामा हुनसक्ने संभावित आतंकवादी हमला र अन्य दुर्घटना रोक्न ३५ सय बेलायती सेनालाई तयारी अवस्थामा राखिएको हो ।
नीजि सुरक्षा कम्पनि जि फोर एस ले लण्डन ओलम्पिकमा १० हजार सुरक्षाकर्मी उपलब्ध गराउने सहमती बेलायत सरकारसँग गरेको थियो ।
त्यसवापत उसले तीस लाख पाउण्ड ओलम्पीक आयोजकबाट पाँउदथ्यो ।
तर पछिल्लो समय आएर उक्त कम्पनीले आफुसँग त्यती धेरै संख्यामा तालीमप्राप्त सुरक्षाकर्मी नभएको बताएपछि रक्षा मन्त्रालयले थप ३५ सय सेना खटाउने निर्णय गरेको हो ।
बेलायत सरकारले यसअघि प्रतियोगिताको सुरक्षाको लागि १३ हजार ५ सय सैनिक खटाईसकेकोमा अव थपिने ३५ सय सेना पनि यही दस्तासँग मिलेर काम गर्नेछ ।