दाङ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राजसंस्था फर्कन सक्छ भनेर पूर्वराजा हिँड्नुभन्दा राजनीति गर्ने नै भए पार्टी खोलेर जनताको मन जित्न चुनौती दिएका छन्।
नेता नेपालले अन्य विकल्पको रूपमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई उद्योग व्यवसाय गर्न वा धार्मिक तिर्थस्थल स्वर्गद्वारीमा बस्नसमेत सुझाव दिए।
प्रेस चौतारी दाङले आज बिहीबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले नेपाली जनताले वंशाणुगत शासन नचाहेको जिकिर गरे। उनले भने, “लोकतन्त्रको बाटोमा गएको युग फेरि वंशाणुगत युगमा फर्कने कल्पना गर्नु दिवासपना मात्र हो।”
वर्तमान राजनीतिक सङ्कट समाधानको एक मात्र विकल्प प्रधानमन्त्री डा बाबुराम भट्टराईको राजीनामा भएको बताउँदै नेता नेपालले जेठ १४ पछि भएका सहमतिहरु विथोलिएकाले देशमा राजनीतिक र आर्थिक सङ्कट उत्पन्न भएको बताए।
उनले भने, “अहिलेको राजनीतिक अविश्वास हटाउन, संविधान निर्माणको ढोका खोल्न र समयमै पूर्ण बजेट ल्याउन पहिलो सर्त र विकल्प भनेकै प्रधानमन्त्री डा भट्टराईको राजीनामा हो।”
नेता नेपालले संविधानसभा माओवादीकै कारण विघटन भएको आरोप लगाए। नेपाल नेपाल एमाले राप्ती अञ्चलका नेता तथा अगुवा कार्यकर्तालाई प्रशिक्षण दिन दाङ आएका हुन्। रासस