सिरियाको हामा प्रदेशको एक गाउँमा ठूलो संख्यामा नरसंहार

सिरियाको हामा प्रदेशको एक गाउँमा कम्तिमा २ सय जनाको ज्यान जाने गरी नरसंहार भएको छ । ट्रेमसेह भन्ने गाउँमा हेलिकप्टर, युद्धपोत र ट्यांकबाट आक्रमण भएको छ ।

 

ठूलो संख्यामा नरसंहार भएको घटनाबारे सरकार र विद्रोहीहरुले एक आपसमा आरोप प्रत्यारोप गरेका छन् । विद्रोहीले नरसंहारमा सरकार समर्थित सवियाह मिलिसियाको हात रहेको दावी गरेको छ भने सरकारी सञ्चारमाध्यमले आतंकवादी समूहरुले नरसंहार मच्चाएको आरोप लगाएका छन् ।

 

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले सिरियामा बढ्दो तनावकाबीच परिवेक्षकहरु पठाउने निर्णय गरेको बेला नरसंहार भएको हो ।

 

यसलाई सिरियामा द्वन्द्व चर्किएपछिको सबै भन्दा ठूलो रक्तपात मानिएको छ । सन् २०११ मार्चमा सिरियामा राष्ट्रपति बसर अल असाद विरुद्धको आन्दोलन चर्केपछि १६ हजार भन्दा बढी मानिस मारिसकेका अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरुले जनाएका छन् ।