नेकपा-माओवादीले वैदेशिक हस्तक्षेप र देशभित्रकै दलालका विरुद्ध राष्ट्रिय स्वाभिमानको रक्षाका लागि संघर्ष गर्ने

पुष्पराज जोशी, नागरिक

 

डोटी – एकीकृत नेकपा माओवादीवाट छुट्टिएर गएको नेकपा -माओवादीले वैदेशिक हस्तक्षेप र देशभित्रकै दलाल का विरुद्ध राष्ट्रिय स्वाभिमानको रक्षाका लागि संघर्ष गर्ने बताएको छ।

सेती महाकालीमा आफ्नो संगठन विस्तार गरेको बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सेती महाकाली राज्य समिति ईन्चार्ज ओमप्रकाश पुनले भने, ‘बाह्य हस्तक्षेपका विरुद्ध नयाँ ढंगले आन्दोलनलाई अगाडी बढाउन नया पार्टी गठन गर्नुपरेको हो।’


पार्टीको मूल नेतृत्व दक्षिणपन्थी नव संसोधनवादमा पतन भएकाले पार्टी फुटेको उनले बताए।


नवगठित २ सय ५१ सदस्यीय सेती महाकाली राज्य समितिको ईन्चार्जमा ओमप्रकाश पुन र सचिवमा शरद सिह भण्डारी रहेका छन। बैठकबाट पार्टीका विभिन्न २० जनवर्गीय संगठन, र सेती महाकाली राष्ट्रिय मुक्ति मोर्चाको समेत गठन गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो।


यसबाहेक नेकपा -माओवादीको सेती महाकाली राज्य समिति अन्तर्गतका सुदूर पश्चिमका सात ओटै पहाडी जिल्लाहरुको पनि नेतृत्व चयन गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो। जस अनुसार डोटीकमा चन्द्रदेव ओझा, अछाममा झंकर वहादुर साउँद(भाष्कर), बाजुरामा मनलाल खत्री,(निलम), बझांगमा धन बहादुर मल्ल( निडर), डडेल्धुरामा भरत धानुक (पुकार), बैतडीमा दल बहादुर धामी (अग्नी) र दार्चुलामा लक्ष्मी जोशी (सुरज) लाई ईन्चार्जमा चयन गरिएको छ।