सिरियाको हामा प्रदेशको एक गाउँमा कम्तिमा २ सय जनाको ज्यान जाने गरी भएको नरसंहारको विश्व नेताहरुले निन्दा गरेका छन् ।
सयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले घटनाले राष्ट्रपति असादको शान्ति योजनाप्रतिको प्रतिबद्धताको खिल्ली उडाएको बताउनु भयो । सिरियाका ट्रेमसेह गाउँमा भएको नरसंहारमा सिरियाली सेनाले सर्वसाधारणको विभत्स हत्या गरेको भन्दै निन्दा गर्नुभएको छ ।
समाचारहरुका अनुसार घटनामा मारिनेहरुमा अधिकांश विद्रोही लडाकुहरु हुन् । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले सिरियामा बढ्दो तनावबीच परिवेक्षकहरु पठाउने निर्णय गरेको बेला नरसंहार भएको हो । यसलाई सिरियामा द्वन्द्व चर्किएपछिको सबै भन्दा ठूलो रक्तपात भनिएको छ ।
सन् २०११ मार्चमा सिरियामा राष्ट्रपति बसर अल असाद विरुद्धको आन्दोलन चर्केपछि १६ हजार भन्दा बढी मानिस मारिसकेका अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरुले जनाएका छन् ।