चितवन – एमाले वरिष्ठ नेता माधवकुमार नेपालले संवैधानिक संकट र जनदवाव भएपछि प्रधानमन्त्री बाबुराम भट्टराई पद छोड्न बाध्य हुने बताएका छन् ।
पत्रकारसँग शनिबार बिहान भरतपुरमा कुराकानी गर्दै निर्वाचन आयोगले दिएको साउन ७ सम्मको समय सीमातर्फ संकेत गर्दै नेता नेपालले आवश्यक कानुन तयार गर्न नसकेपछि प्रधानमन्त्रीले पद छोड्न बाध्य हुने बताएका हुन् ।
भावी सरकारको नेतृत्व काँग्रेसले गर्नुपर्ने नेपालको भनाइ थियो । काँग्रेसले नेतृत्व गर्नुपर्छ भन्ने सवालमा एमालेमा कुनै द्विविधा छैन, वैशाख २१ को सहमतिमा नै त्यो उल्लेख भइसक्यो, उनले भने ।
सङ्घीयताको विषयमा पूर्ववत सहमतिलाई माओवादीले उल्लङ्घन गरेपछि संविधानसभा विघटन भएको दाबी गर्दै नेता नेपालले पहिचानका पाँच आधार नै सङ्घ निर्माणको आधार हुने स्पष्ट पारे ।
जातिय पहिचानका आधारमा कुनै पनि हालतमा सङ्घीय संरचनामा नजाने उल्लेख गर्दै उनले जातिय पहिचानका माग राखेर एमालेभित्र सङ्घर्ष गर्ने नेताहरुले छुट्टै विचार समूहका रुपमा अघि बढ्न राखेका माग पूरा गर्न नसकिने बताए ।