झण्डै ४० जनाको ज्यान जाने गरी तीर्थयात्री चढेको बस दुर्घट्ना भएको २४ घण्टा बित्न नपाउँदै त्रिशुली नदीमा बस खस्दा कम्तिमा १६ जनाको मृत्यु भएको छ।
उदयपुरको कटारीबाट काठमाण्डू जाँदै गरेको बस धादिङस्थित कृष्णभीरबाट नदीमा खस्दा अन्य कयौं यात्रु हराएको प्रहरीको आशंका छ।
नवलपरासीमा शनिवार भएको दूर्घट्नामा ३९ जनाको मृत्यु भएको थियो।
ढिलाई पर्याप्त सामग्री नहुँदा दुर्घट्नाका घाइतेको उद्धार काममा ढिलाइ भएको प्रत्यक्षदर्शीले बताएका छन्।
घट्नास्थलबाट एकजना पत्रकार शिव सिलवालले भने, “प्रहरीसंग पर्याप्त मात्रामा उद्धार सामाग्री नभएकाले उद्धारमा ढिलाइ भएको थियो, बसलाई नदीबाट निकाल्न काठमाण्डूबाट उपकरणहरु लगिएको थियो।”
सो बसमा ५२ जना यात्रु सवार रहेका र ती मध्ये १७ जना घाईते र १९ जना जति नदीमा हराइरहेको आशंका प्रहरीको छ।
बस सडकबाट करिब १५० फिट तल त्रिशुली नदीमा खसेको थियो।
हवाई यात्रा असुरक्षित बन्दै गएको चिन्ता हुने गरेकोमा बेला-बखत हुने ठूल्ठूला सडक दूर्घट्नाले सडक-यात्रा सुरक्षित बनाउने जिम्मेवारी बोकेका सरोकारवालाको उदासिनता उदांग पार्ने गरेको टिप्पणी हुने गरेका छन्।
पछिल्लो पटक धादिङमा भएको दुर्घटनाको कारणबारे ईलाका प्रहरी कार्यलय गजुरीका प्रहरी निरीक्षक बिनोद घिमिरेको भनाइ थियो, “पानी परेकाले बाटो चिप्लो हुनुका साथै लामो बाटोको रात्री बसमा एकजना मात्र ड्राइभर भएकाले निन्द्राका कारण भएको हुनसक्छ।”
प्रहरीले गरेका अनुसन्धानहरुले तीव्र गति, अगाडिको गाडीलाई उछिन्ने होड, पुराना गाडी, खराब बाटो र चालकको लापरवाहीलाई दुर्घटनाको मुख्य कारण देखाउने गरेका छन्।
एकिकृत नेकपा माओवादीको विस्तारित बैठक सोमबार स्थगित हुनुको कारण पनि सडक दुर्घट्नानै बन्न पुगेको छ।
एकै दिन भएका दुईवटा दुर्घट्नामा आफ्ना तीनजना कार्यकर्ताको मृत्यु र अन्य केही घाइते भएकाले बैठक मंगलवारका निम्ति सारिएको उक्त पार्टीका नेता हरिवोल गजुरेलले बताए।
– RSS,BBC