याहुले अर्को ठूलो कम्पनी गुगलका एक प्रमुख अधिकारीलाई आफ्नो नयां कार्यकारी अधिकृतमा नियुक्त

प्रविधिको क्षेत्रमा विश्वको ठूलो कम्पनी मध्ये एक याहुले अर्को ठूलो कम्पनी गुगलका एक प्रमुख अधिकारीलाई आफ्नो नयां कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । ३७ वर्षिय मरिसा मायर एक वर्ष भित्र याहुको तेस्रो मुख्य कार्यकारी अधिकृत बन्न पुगेकी छिन् । गुगलकी पूर्व कर्मचारी मरिसाले याहुको नेतृत्व गर्ने अवसर पाएर सम्मानित भएको महशुस गरेको बताएकी छिन् । गुगल सर्च इन्जिन र कम्पनीको होम पेज बनाउनमा मरिसाको महत्वपूर्ण भूमिका रहेको थियो ।


याहुका यस अघिका मुख्य कार्यकारी अधिकृत स्कट टम्सनले आफ्नो शैक्षिक योग्यताको विषयमा गलत जानकारी दिएको आरोप लागेपछि राजीनामा दिएका थिए । गुगल र सोशल नेटवर्किङ कम्पनी फेसबुक संचालनमा आएपछि याहुले निकै चुनौतिको सामना गर्न परिरहेको छ । चर्को प्रतिष्पर्धामा याहुले मानिसहरुलाई आकर्षित गर्न असफल रहेको बताइन्छ ।