सिरियामा राष्ट्रपति असादले सत्ता टिकाउन रसायनिक हतियार प्रयोग गर्न सक्ने


 

सिरियामा राष्ट्रपति बशार अल असादको साथ छोडेका उच्च राजनीतिज्ञ नवाफ फारेसले सत्ता टिकाउन असादले रसायनिक हतियार प्रयाग गर्न सक्ने वताएका छन् । इराकका लागि सिरियाका राजदूत भइसकेका फारेसले बीबीसीसंगको कुराकानीमा केही अपुष्ट रिपोर्टहरुले सिरिया सरकारले यस्ता हतियार पहिल्यै पनि प्रयोग गरिसकेको बताएका हुन् । उनले होम्स् शहरमा सानो स्तरमै भएपनि रसायनिक हतियार प्रयोग गरिएको दाबी गरे ।

कतारमा शरण लिन पुगेका फारेसले सरकारले अलकायदासँगको साँठगाँठमा बमबारी गरेको आरोप समेत लगाए । यता संयुक्त राष्ट्रसंघ र अरब लीगका तर्फबाट सिरियाका लागि विशेष दूत रहेका कोफी अन्नानले सिरियाको संकटका विषयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसंग वार्ता गर्दै हुनुहुन्छ । रुस सिरियाको महत्वपूर्व सहयोगी राष्ट्र हो । यसैबीच सिरियामा संयुक्त राष्ट्रसंघका पर्यवेक्षकहरुको कार्यकाल शुक्रवार सकिंदै छ र नयाँ कार्यकालका लागि राष्ट्रसंघको प्रस्ताव आवश्यक हुन्छ । सिरियामा विगत १६ महिना यता राष्ट्रपति असादको शासन विरुद्ध भइरहेको प्रदर्शनमा १६ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।