बढ्दो बाहय र आन्तरिक कर्जाका कारण हरेक नेपालीको थाप्लोमा १८ हजार ८ सय रुपैयाँ ऋणको भार

काठमाडौ  – बढ्दो बाहय र आन्तरिक कर्जाका कारण हरेक नेपालीको थाप्लोमा १८ हजार रुपैयाँभन्दा बढी ऋणको भार परेको छ । गत असारसम्म सरकारले करिब ५ खर्ब ९ अर्ब रुपैयाँ ऋण लिएको छ । जसमध्ये ३ खर्ब ८ अर्ब रुपैयाँ विदेशी ऋण छ । यस अनुसार वैदेशिक ऋणको भारमात्रै प्रतिव्यक्ति करिब ११ हजार ४ सय रुपैयाँ हुन्छ ।


आन्तरिक समेत जोड्दा प्रतिव्यक्ति ऋण १८ हजार ८ सय रुपैयाँ छ । ‘हालसम्मको ऋण हेर्दा प्रतिव्यक्ति ऋण १८ हजार ८ सय पुगेको छ,’ अर्थ सचिव कृष्णहरि बाँस्कोटाले भने । आन्तरिक ऋण करिब २ खर्ब रुपैयाँ छ ।


पछिल्लो समय बढेको राजनीतिक अस्थितरताका बाबजुद दातृ निकायले नेपाललाई दिने सहयोग बढाइरहेका छन् । ३ वर्षयता दाताले करिब ३ खर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको अर्थमन्त्रालयको तथ्यांक छ ।


गत वर्ष करिब १ खर्ब ७ अर्ब र २०६७/६८ मा १ खर्ब ६ अर्ब रुपैयाू सहयोग गर्ने प्रतिवद्धता दातृ निकायबाट आएको थियो । वैदेशिक ऋण करिब ३ खर्ब ८ अर्ब १० करोड रुपैयाँ पुगेको छ । त्यसैगरि आन्तरिक ऋण २ खर्ब १ अर्ब ५० करोड रुपैयाँ छ । ‘कुल ऋण ५ खर्ब ९ अर्ब ५० करोड रुपैयाँ छ,’ अर्थसचिव कृष्णहरि बाँस्कोटाले भने, ‘यस हिसाबले प्रतिव्यक्ति १८ हजार ८ सय ६६ रुपैयाँ ८० पैसा ऋण छ ।’ वैदेशिक ऋणको अवस्था कुल गार्हस्थ उत्पादनको अनुपातमा ३२ दशमलव ७ प्रतिशत छ ।


आव २०६६/०६६ मा ९६ अर्ब रुपैयाँ सहयोग गर्ने जनाएका थिए । ‘दाताबाट आएको प्रतिबद्धता हेर्दा अवस्था तरल भए पनि नेपाललाई सघाउने इच्छा बढ्दो देखिन्छ,’ अर्थ सचिव कृष्णहरि बाँस्कोटाले भने ।


तर, प्रतिबद्धताअनुरूप सहयोग रकम खर्च हुन भने सकेको छैन । गत आवमा १ खर्ब ७ अर्ब बराबरको प्रतिबद्धता आए पनि करिब ४७ अर्ब रुपैयाँ प्राप्त भएको अर्थले जनाएको


छ । ‘राष्ट्र बैंकको असार अन्तिम साताको तथ्यांकअनुसार त्यति बेलासम्म अनुदान सहयोगबाट ४२ अर्ब रुपैयाँ नगद सहयोग आइसकेको छ,’ सचिव बाँस्कोटाले भने, ‘ऋण सहयोगतर्फ करिब ५ अर्ब रुपैयाँ परिचालन भइसकेको छ । वस्तुगत र सोझो भुक्तानीसम्बन्धी सहयोगको तथ्यांक आइसकेको छैन ।’


गत आवमा ५६ अर्ब ९३ करोड अनुदान र ५० अर्ब ६२ करोड रुपैयाँ ऋणको प्रतिबद्धता आएको थियो । सञ्चालित कार्यक्रम निर्धारित समयमै नसकिँदा दाताहरूको सहयोग रकम पूरै खर्च हुन नसकेको हो ।


भारत, चीन, जापान, बेलायत र स्विट्जरल्यान्ड दुईपक्षीय सहयोग गर्ने ठूला दाता हुन् भने एसियाली विकास बैंक, विश्व बैंक, सीआईएफ, ओपेक फन्ड र युरोपेली कमिसन बहुपक्षीय सहयोग गर्ने ठूला दाता हुन् । हाल नेपाललाई दुईपक्षीय र बहुपक्षीय गरी ४० दाताबाट सहयोग आइरहेको छ ।


दातासँग शोधभर्नाको अवस्था राम्रो रहेको अर्थ प्रवक्ता राजन खनालले बताए । ‘कुनै समय दातासँग ३२ अर्ब रुपैयाँसम्म शोधभर्ना गर्न बाँकी थियो,’ उनले भने, ‘२/३ वर्ष यता शोधभर्ना २ अर्ब रुपैयाँभन्दा माथि छैन ।’ उनले परियोजनामा भएको कामको प्रतिवेदनका आधारमा रकम निकासा गर्ने भएकाले शोधभर्नाको अवस्था सुधि्रएको बताए ।

 

कान्तिपुर