एकीकृत माओवादीको सातौं विस्तारित बैठकमा पुष्पकमल दाहाल र भट्टराईमाथि कुर्सी प्रहार, दुई पक्षबीच हात हालाहाल

काठमाडौ – काठमाडौंबाट संचारमाध्यमहरुले उल्लेख गरे अनुसार  ए. माओवादीको सातौं विस्तारित बैठकमा विवाद बढेपछि बन्द सत्रमा सहभागीबीच कुर्सी हानाहान भएको छ । फ्लोरबाट दाहाल र भट्टराईलाई समेत लक्षित गरेर मंच पट्टी कुर्सी हानिएपछि बैठक स्थगित भएको छ ।  बैठक स्थलबाट नेताहरु बाहिरिएका छन् । स्रोतका अनुसार भोजपुरा राज्य समितिको टोली नेताले बोल्ने क्रममा विवाद भएको हो । विवाद मिलाउन पोलिट ब्यूरो बैठक बसेको छ । भोजपुरा राज्य समितिको टोली नेताका विषयमा विवाद चल्दै आएको थियो ।


उपाध्यक्ष बाबुराम भट्टराई पक्षका बलिराम साहले भोजपुरको तर्फबाट बोलिरहेको बेला हलमा दाहाल पक्षले हुटिङ सुरु गरेपछि भट्टराई पक्षले  प्रतिवाद गरेको थियो । दुई पक्षबीच हातहालाहाल समेत भयो । स्थिति तनावपूर्ण भएपछि मञ्चबाट उठ्न खोजेका भट्टराईलाई दाहाल पक्षका लोकेन्द्र विष्ट र जनार्दन शर्मा लगायतले उठ्नबाट रोकेका थिए ।


यसैबीच,समाचार संकलनका लागि रोक लगाइएको छ । समाचार संकलनका लागि पुगेका पत्रकारहरुलाई बैठक स्थल भृकुटी मण्डपको गेटमै रोकिएको छ ।


यसअघि संचारकर्मीहरुले भृकुटीमण्डपमा सहज पहुँच पाएका थिए । पार्टी भित्रको आन्तरिक विवाद मिडियामा धेरै आएकोले सञ्चारकर्मीलाई गेटमै रोकिएको माओवादी स्रोतले जनाएको छ ।


बैठकको बन्द सत्रमा समूह छलफल र टोली नेताहरुले बोल्ने क्रम जारी छ । अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको दस्तावेज उपर १४ वटा समूहका टोली नेताले धारणा राख्ने क्रम चलिरहेको थियो । बिहीबार ७ समूहका टोली नेताले बोलेका थिए बाँकीले आज बोल्ने क्रम थियो ।

 

समाचार स्रोत : कान्तिपुर, रासस