भारतीय योगगुरु रामदेवका सहयोगी एवं आयुर्वेदका विज्ञ आचार्य बालकृष्णलाई भारतीय प्रहरीले आज नियन्त्रणमा लिएको छ । फर्जी राहदानी प्रयोग गरेको आरोपमा देहरादुनस्थित एक अदालतले आचार्य बालकृष्ण विरुद्ध वारेन्ट जारी गरेकोमा बालकृष्ण अदालतमा उपस्थित नभएपछि भारतको केन्द्रीय अनुसन्धान व्युरो सीबीआईले उहाँलाई हरिद्वारस्थित पतन्जली योग पीठबाट नियन्त्रणमा लिएको हो । नेपाली मूलका आचार्य बालकृष्ण विरुद्ध भारतीय प्रहरीले ढाँटेर भारतीय राहदानी लिएको आरोप लगाउँदै आएको छ । तर आचार्य बालकृष्णले भने आफु भारतमै जन्मिएकाले जन्मसिद्ध भारतीय भएको जिकीर गर्दै आउनु भएको छ ।
योग गुरु रामदेवले भारतीयहरुले विदेशमा थुपारेको कालो धन फिर्ता ल्याउन माग गर्दै गत बर्षदेखि आन्दोलन शुरु गरेपछि रामदेवसंगै आचार्य बालकृष्ण पनि भारतीय सत्ताधारीहरुको निशानामा परेका छन् । आगामी अगष्ट ८ देखि पुनः आन्दोलन चर्काउने तयारी गरिहेको बेला गरिएको यो गिरप्mतारीलाई पनि सोही आन्दोलनलाई निस्तेज पार्ने हतियारको रुपमा हेरिएको छ । आचार्य बालकृष्ण रामदेव नेतृत्वको पतञ्जली योगपीठ ट्रष्ट अन्तर्गतका ३४ वटा कम्पनीका निर्देशक पनि हुनुहुन्छ । यी ३४ कम्पनीको सम्पत्ति झण्डै २ सय ६६ करोड भारु रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।
सीबीआईले भने आचार्य बालकृष्णले सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट शास्त्री पास गरे नगरेको, उहाँले विवाह गरे नगरेको लगायतका विषयमा अनुसन्धान गरिरहेको भारतीय संचार माध्यमले जनाएका छन् । यता, स्याङ्जा, काफलडाँडामा रहेका आचार्य बालकृष्णका बाबुआमाले आफुहरु नोकरीको शिलशिलामा हरिद्वारमा रहँदा बालकृष्णको जन्म भएको बताउँदै आएका छन् ।