माओवादी लडाकुका नाममा सरकारले निकासा गरेको अर्बौं रुपैयाँ तिनका कमान्डरले लिएको घटना सीधै भ्रष्टाचार

घनश्याम खड्का

 

काठमाडौं – कानुनी भाषामा गर्नु भनेको काम नगर्नु र नगर्नु भनेको काम गर्नु भ्रष्टाचार हो । यस हिसाबले माओवादी लडाकुका नाममा सरकारले निकासा गरेको अर्बौं रुपैयाँ तिनका कमान्डरले लिएको घटना पनि सीधै भ्रष्टाचार भएको अख्तियारका पूर्वआयुक्त विश्वनाथ उपाध्यायले बताए ।

‘सरकारी पैसा जुन कामका लागि निकासा भएको हो त्यो हुन सकेन, त्यस हिसाबले यो भ्रष्टाचार हो,’ उपाध्यायले भने, ‘यसमा जसले पैसा लिएको हो, उसलाई भ्रष्टाचारमा मुद्दा लाग्छ ।’


अख्तियार, प्रहरी र सरकारी वकिलले यसमा सीधै अनुसन्धान गर्न सक्ने अख्तियारी कानुनले दिएको उपाध्यायले बताए ।


‘लडाकुहरू आफैं पैसा नपाएको कुरो गरिरहेका छन्, उनीहरू बयान दिन पनि तयार छन्,’ उपाध्यायले भने, ‘यसमा अनुसन्धान गर्न धेरै दुःख गर्नै पर्दैन, प्रमाण आफैं बोलिरहेको छ । यहाँ मात्र खाँचो इच्छाशक्तिको छ ।’


अख्तियारमा उजुरी नपरे पनि आफैं अनुसन्धान गर्न सक्ने अधिकार कानुनले दिएको छ । त्यस्तै प्रहरीले पनि बिनाउजुरी घटनाको अनुसन्धान गर्न र अभियुक्तलाई पक्रन सक्छ । प्रहरीको अनुसन्धानबाट सरकारी वकिलले मुद्दा दर्ता गर्न सक्छन् ।


सरकारसँग लडाकुका लागि भनेर पैसा भुक्तानी लिने पहिलो र मुख्य जिम्मेवार हुने भन्दै उसमाथि भ्रष्टाचार, जालसाजी, ठगी, किर्ते आदि अनेक मुद्दा लाग्न सक्ने पृष्ठभूमि देखिएको उपाध्यायले बताए । अख्तियारका पूर्वआयुक्तले यसो भने पनि आयुक्तविहीन अख्तियारले हालसम्म यसप्रति कुनै चासो देखाएको छैन ।


‘देखाउनुपर्ने अवस्था पनि आइसकेको छैन,’ अख्तियारका प्रवक्ता ईश्वरी पौडेलले भने, ‘पहिलो कुरो त अनुसन्धान नगरी भ्रष्टाचार मुद्दा लाग्न सक्छ कि सक्दैन भन्न सकिँदैन । दोस्रो कुरा अख्तियारले कारबाही गर्ने भनेको सार्वजनिक पद धारण गरेका व्यक्तिलाई हो । माओवादी कमान्डर यसमा पर्दैनन् ।’


पौडेलका अनुसार माओवादीले लडाकुबाट पार्टीका लागि लेबी उठाउने नीति भएको बताएकाले पनि अख्तियारको अनुसन्धान गर्ने र मुद्दा चलाउने दायरा प्रस्ट नभएको हो ।


‘कुनै राजनीतिक दललाई आफ्ना कार्यकर्तासँग लेबी नउठाऊ भन्ने अधिकार अख्तियारलाई छैन,’ उनले भने, ‘त्यहाँभित्र भएको आर्थिक गडबडीको माओवादी आफैंले पनि छानबिन गर्ने घोषणा गरेको छ । उनीहरूले नै यो सल्टाए भने हामीले हेर्नै परेन ।’


यति हुँदाहुँदै पनि उजुरी परे वा भ्रष्टाचारको प्रमाण भेटिएमा अनुसन्धानका लागि अख्तियार पछि नहट्ने उनले बताए ।