बुटवल – राष्ट्रपति रामवरण यादवले संविधान जारी नगरेर संविधानसभा विघटन हुनुमा प्रमुख चार राजनीतिक शक्ति दोषको भागी हुनुपर्ने बताएका छन् । उनले माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाले जिम्मेवरी पूरा नगर्दा नेपाली जनता दुःखी हुनुपरेको बताए ।
बुटवलमा निर्माण भएको कोरिया नेपाल इष्टिच्युट अफ टेक्नोलोजीको शनिबार उद्घाटन गर्दै उनले ९० प्रतिशत काम सकेर पनि संविधान जारी गर्न नसक्नु दुःखद भएको उल्लेख गरे । ‘दलहरुबीच ७ देखि ५ बुँदासम्म सहमति भयो तर उनीहरुले त्यसलाई कार्यान्वयन गर्न नसक्दा यस्तो अवस्था आयो,’ उनले भने ‘सरकार, दल र संविधानसभाले ठूलो भूल गरेको छ । इतिहाँसले त्यसको मूल्यांकन गर्नेनै छ ।’ उनले आफूले पनि अभिवाकको राम्रो भूमिका निर्वाह गर्न नसकेको हो कि भन्दै आफ्नो पनि मूल्यांकन हुने बताए ।
अहिले मुलुकको यात्रा अप्ठ्यारोमा परेको भन्दै उनले गल्तीबाट पाठ सिक्दै दलहरु अगाडि बढ्ने जमर्को गर्नुपर्ने जनाए । ‘प्रधानमन्त्री र राजनीतिक दलको नेतृत्वले छिटो सहमति गरेर देश निकास दिनुपर्छ,’ उनले भने ‘व्यक्ति र पार्टीभन्दा देश ठूलो छ । सबैले व्यक्तिगत स्वार्थ त्याग्नुपर्छ ।’
समस्या समाधानका लागि प्रधानमन्त्रीको भूमिका महत्वपूर्ण हुने भन्दै उनले प्रधानमन्त्रीबाट उपयुक्त निकास आउने विश्वास लिएको बताए । ‘समय घर्किसकेको छ । व्यवस्थापन गरिएन भने सबैले पछुताउनुपर्नेछ,’ उनको कथन थयो ।
सरकार उतरदायी बन्नुपर्छ सोंच बिचार गरेर पाइला चाल्नुपर्ने उनको सुझाव थियो । उनले प्रत्येक निर्णय अध्यादेशबाट गर्यो भने त्यसले देश र लोकतन्त्रलाई कमजोर बनाउने तर्फ सरकारको ध्यनाकर्षण समेत गराए । ‘अध्यादेश जारीका लागि सरकार म कहाँ आइपुग्छ,’ उनले भने ‘बारम्बार अध्यादेश ल्याउनु राम्रो हुन्न ।’
अर्को प्रसंगमा उनले मुलुकमा जातीयता कुरा बढेको देख्दा आफ्नो मुटु दुख्ने गरेको भन्दै कुन जाति र धर्म भन्नुभन्दा पनि सबै नेपाली हो भन्नु राम्रो हुने बताए । ‘संस्कृति बचाउ र जातीयता मेटाउ, सबै नेपाली एउटै हौं,’ उनले भने ।
दक्षिण कोरिया सरकारको सहयोगमा बुटवल नगरपालिका १४ स्थित तामनगरमा करिब ५५ करोड रुपैयाको लागतमा ९ बिगाहा १३ कठ्ठाको क्षेत्रफलमा टेक्नोलोजी निर्माण गरिएको छ ।