प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३० औं स्मृति दिवस आज देशभर मनाइँदै छ । नेपाली राजनीतिमा बीपी कोइराला र नेपाली साहित्यमा विश्वेश्वरप्रसाद कोइरालाको नामबाट सुपरिचित कोइराला क्रान्तिदृष्टा, सिद्धान्तनिष्ठ र असल राष्ट्रवादका धनी हुनुहुन्थ्यो । साहित्यमा अराजक र राजनीतिमा व्यवहारवादी नेता कोइरालाको १९७१ साल भदौ २४ गते भारतको बनासमा जन्म भएको थियो । जीवनभर प्रजातन्त्रका लागि लड्नुभएका कोइराला शालीन, सुझबुझ गम्भीर चिन्तन, अदम्म साहसी नेता हुनुहुन्थ्यो । जनतालाई चेतनशील बनाई नीति र जनताबीच जोड्न सक्ने उहाँ प्रभावशाली प्रधानमन्त्री रुपमा परिचित हुुनुभयो ।
क्यान्सर रोगका कारण २०३९ साल साउन ६ गते उहाँको निधन भएको थियो । भारतीय स्वतन्त्रता आन्दोलनमा त्यहाँका शीर्ष नेताहरु रोजन्द्रप्रसाद, जवाहरलाल नेहरु, जयप्रकाश नारायण, डा. राममनोहर लोहियासँगै उहाँ जेल बस्नुभएको थियो । सन् १९४२ को अंग्रेजविरुद्ध भारत छोडो आन्दोलनमा भारतका पूर्व राष्ट्रपति डा.राजेन्द्र प्रसादसँगै नेता कोइराला पनि हजारीबाग जेलमा बस्नुभएको थियो । भारत स्वतन्त्र भएपछि नेपालको जहनियाँ राणशासनको अन्य गर्ने उद्देश्य साथ उहाँ २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरी जनतालाई सगंठित गर्न थाल्नुभयो ।
२००५ सालमा अन्तिम राणा शासक मोहनशमशेरको पालामा उहाँले जेलभित्र २९ दिनसम्म अनशन बसी राष्ट्रिय अन्तरराष्ट्रिय जगत्मा चर्चित भएर राणाशासन व्यवस्थालाई घुँडा टेकाउनु भएको थियो । २००७ सालको क्रान्तिपश्चात् २०१५ सालमा भएको पहिलो आम निर्वाचनमा नेपाली कांग्रेसले दुईतिहाई बहुमत ल्याएपछि कोइराला प्रधानमन्त्री हुनुभएको थियो । तत्कालीन राजा महेन्द्र शाहले निर्वाचित सरकारलाई बर्खास्त गर्दै प्रधानमन्त्री कोइरालासहित अन्य नेतालाई जेलमा राखेका थिए ।
२०२५ सालमा आठ वर्ष जेल जीवनपछि जननेता कोइरालासहित अन्य नेताहरु जेल मुक्त हुनुभएको थियो । त्यसपछि भारत प्रवासमा रहनुभएका कोइराला २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वेदश फर्कनुभएको थियो ।
राजनीतिमा क्रियाशील रहेर पनि कोइरालाले साहित्यको क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिनुभएको छ । उहाँको सुम्निमा, मोदी आइन्, बाबु आमा र छोरा नरेन्द्र दाई, तीन घुम्ती तथा हिटलर र यहूदी नामका उपन्यास प्रकाशित छन् । यसै गरी, दोषी चश्मा र श्वैतभैरवी कथासंग्रह, जेल जर्नल, वीपीको आत्मवृतान्त, वीपीका विचारहरु जस्ता कृतिहरु प्रकाशित छन् । RSS