दमस्कसमा भीषण संघर्ष भएपछि हजारौ सिरियाली छिमेकी मुलक पलायन, सुरक्षा परिषदको मिशन अन्तिम पटक ३० दिन थप

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले सिरियामा अनुगमनकर्ताहरुको मिशन सर्वसम्मतिले अन्तिम पटकका लागि भन्दै ३० दिन थपेको छ । ठूला हतियारको प्रयोग नगरिएमा र जारी द्धन्द कम हुंदै गएमा भने अनुगमनकर्ताहरुको मिशन बढाउन परिषद्का सदस्य राष्ट्रहरुले सहमति जनाएका छन् ।

 

सहमति अघि बेलायतले तयार पारेको प्रस्तावको मस्यौदा विरुद्ध रुसले भिटो प्रयोग गर्ने चेतावनी दिएको थियो । तर मस्यौदा संशोधन भएपछि रुसले पनि मिशनको समय थप्न सहमति जनाएको थियो । गत शुक्रवार मात्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सुरक्षा परिषद् बाहिर रहेर सिरिया विरुद्ध कुनै पनि कारवाही नगर्न पश्चिमा मुलुकहरुलाई चेतावनी दिनु भएको थियो ।


सिरियामा युद्धविराम लागु हुनुको सट्टा हिंसा बढ्न थाले पछि भने अनुगमनकर्ताहरुले आफ्नो काम स्थगित गरेका थिए । यसैबीच सरकारी सेनाले राजधानीका विभिन्न क्षेत्रमा पकड जमाएर बसेका विद्रोही विरुद्ध आक्रमण तिब्र पारेको छ । सरकारी सेनाले मिदान जिल्ला पून आफ्नो नियन्त्रणमा लिएको जनाएका छन् । विद्रोहीले भने गत विहिवार मात्रै इराक र टर्कीसंग सिरियाको सीमा क्षेत्र नियन्त्रणमा लिएका थिए ।

 

यता राजधानी दमस्कसमा संघर्ष चर्किन थालेपछि हजारौं सिरियाली जनता छिमेकी मुलकहरुमा पलायन भैरहेका छन् ।

 

राष्ट्रपति बशार अल असादको शासन विरुद्धको १६ महिना देखीको संघर्षका क्रममा जोर्डनमा मात्रै १ लाख ४० हजार मानिस पलायन भैसकेका छन् भने पछिल्लो २४ घण्टामा मात्रै ३ हजार मानिस इराक पलायन भएको बताइएको छ ।