ललितपुरको सुन्दरीघाटमा जबरजस्ती सुकुम्बासी बस्ती बसाउने सरकारी निर्णय फिर्ता हुनुपर्ने माग राख्दै स्थानीयवासीले आइतबार ललितपुर बन्द गरेका छन् । बन्दको सामान्य प्रभाव परेको छ । शिक्षण संस्था बन्द छन् भने सवारी साधन पनि कम चलेका छन् ।
बन्दको पूर्वसन्ध्यामा स्थानीयले शनिबार अपराह्न मसाल जुलुस निकालेका थिए । धोबीघाट, सुन्दरीघाटवासी साथै पाटनको ज्यापू समाजको सहभागितामा कुपण्डोलबाट निकालिएको जुलुस लगनखेल पुगेर कोणसभामा परिणत भएको थियो ।
सत्तारुढ एमाओवादी भने यसमा सामेल छैन ।
मसाल खोस्ने क्रममा केहीबेर प्रहरी र स्थानीयबीच झडप भएको थियो । प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएर छाडेको छ ।
मलपोखरी संरक्षण संघर्ष समितिका पदाधिकारीका साथै दलका नेताहरूले माग पूरा नभए जिल्लाव्यापी आमहडतालको चेतावनी दिएका छन् । सरकारले माग पूरा गर्ने आश्वासनका साथ पटक-पटक वार्तामा बोलाए पनि धोका दिएको भन्दै उनीहरूले थप आन्दोलन चर्काउने घोषणा गरेका छन् ।
संघर्ष समितिका संयोजक सूर्यमान महर्जनले बस्ती नहटाए स्थानीयले प्रतिरोध गर्ने चेतावनी दिए ।