नेकपा-माओवादी निकट अनेरास्ववियु क्रान्तीकारीको आहृवानमा आइतबार देशभरका उच्च मावि बन्द भएका छन् ।
विदेशी नाम राख्ने उच्च माविले नेपाली राष्ट्रियता झल्कने नाम राख्नुपर्ने, महँगो शैक्षिक शुल्क खारेजी, महँगो होर्डिङ बोर्ड हटाउनुपर्ने लगायतका माग गर्दै अखिल क्रान्तिकारीले आइतबार र सोमबार देशभरका उच्च मावि बन्द आहृवान गरेको संयोजक शरद रसाइलीले जानकारी दिए । बन्दका कारण देशभरका ५ सय ७६ उच्च माविको पठनपाठन ठप्प भएको छ ।
अखिल क्रान्तिकारीले विगतमा भएका सहमति कार्यान्वयन नभए अनिश्चितकालीन हड्ताल गर्ने रसाइलीले बताए । ‘अबको आन्दोलन झन् कडा हुन्छ,’ उनले भने ।
कुटपीटपछि आफ्ना कार्यकर्ता मारिएको विषयमा नेकपा-माओवादी, पाँचथरले आइतबारदेखि अनिश्चितकालीन जिल्ला बन्द गरेको ईकान्तिपुरकर्मी लवदेव ढुंगानाले जनाएका छन् ।
माओवादी इलाका समितिका सदस्य गजेन्द्र जबेगूलाई कांग्रेसका कार्यकर्ताहरुले नियोजितरुपले हत्या गरेको आरोप लगाउँदै माओवादीले पाँचथर बन्द गरेको हो । बन्दलाई सफल बनाउन माओवादीले बिहान पत्रकार सम्मेलन गर्दै फिदिममा प्रदर्शन जारी राखेको छ । माओवादी बन्दका कारण सदरमुकामसहित ग्रामीण बजारहरु, कलकारखाना र शैक्षिक संस्था बन्द भएका छन् । बन्दका कारण मेची राजमार्ग र ग्रामीण सडकमा सवारी साधन चलेका छैनन् ।
घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कानुनी कारबाही चलाउन, मृतकलाई सहिद घोषणा गर्न र परिवारलाई क्षतिपूर्ति नदिएसम्म अनिश्चितकालीन बन्द जारी रहने नेकपा माओवादीका जिल्ला सचिव लक्ष्मी न्यौपानेले बताए ।