चीनमा भारी वर्षा र बाढीमा परी २० जना मारिए

चीनमा भारी वर्षा र बाढीमा परी २० जना मारिएका छन् । राजधानी बेईजिङमा भारी वर्षाका कारण कम्तिमा १० जनाको मृत्यु भएको छ भने सान्झी प्रान्तमा ४ तथा सिचुवान प्रान्तमा ६ जना मारिएका छन् । पछिल्लो ६० वर्ष यताकै भिषण वर्षाले निम्त्याएको विनाशबाट हजारौं विस्थापित भएका छन् । चिनियाँ समाचार एजेन्सी सिह्न्वाका अनुसार औसत १ सय ७० मिलिमिटर वर्षा हुने बेईजिङमा हिजो ४ सय ७० मिलिमिटर वर्षा भएको थियो ।

वर्षाको कारण वेईजिङको मूख्य अन्तराष्ट्रिय विमानस्थल घण्टौसम्म अवरुद्ध हुँदा ५ सयभन्दा धेरै उडान रद्ध गरिएका थिए । वर्षाको कारण दर्जनौ घरको छाना खसेको थियो भने बाटो अवरुद्ध भएको थियो । भूमिगत बिजुली आपूर्ति अवरुद्ध भएर ठाउँठाउँमा करेन्ट लिक हुँदा केही व्यक्तिको ज्यान गएको थियो ।