ललितपुर बन्दको क्रममा सवारी साधन तोडफोड गर्ने ४२ पुरुष र तीन जना महिलालाई पक्राउ

काठमाडौँ – मलपोखरी संरक्षण समितिको अगुवाईमा स्थानीयबासीले आव्हान गरेको ललितपुर बन्दको क्रममा सवारी साधन तोडफोड गर्ने कार्यमा संलग्न ४२ पुरुष र तीन जना महिलालाई प्रहरीले आज पक्राउ गरेको छ। 


प्रहरीका अनुसार बन्दकर्ताहरुले आज बिहान सवा ७ बजे धोबिघाटमा ढुंगा प्रहार गरी बा.२ ख २९७६ नम्बरको नेपाल यातायातको सिसा तोडफोड गरेका थिए। सो क्रममा बसमा यात्रा गर्ने बागडोल बस्ने ३० बर्षीया नविना थापा समेत सामान्य घाइते भएकी थिइन्।


त्यस्तै बन्दकर्ताहरुले धोबिघाटमा सवा नौ बजे बा.२ ख ९५१४ नम्बरको बसमा ढुंगा प्रहार गर्दा बसका खलासी सितापाइला बस्ने मोरङ जिल्ला सिजिवा घर भएका २७ वर्षीय बिनोद आचार्य सामान्य घाइते भएका थिए।

बन्दकर्ताहरुले सोही ठाँउमा मध्यपुर ठिमी यातायातको बा.२ ख १६५० नम्वरको बसको अगाडिको सिसा फुटाएका थिए भने सानेपामा बा.२ ख ५०६ नम्वरको बसको अगाडिको सिसा र चापागाउँमा बा.६ च २०२० नम्बरको कारको अगाडिको सिसा फुटाई क्षति पुर्‍याएका थिए।


बन्दकर्ताहरुले १२:५० बजे सानेपास्थित चौधरी ग्रुप अगाडि बा.३ च ४००३ नम्वरको कार र इनारमोडमा बा.१ ज २१७७ नम्वरको ट्याक्सीलाई ढुंगा प्रहार गरी क्षति पुर्‍याएका थिए भने ३ बजे पाटनढोकामा बा.१ ज ७७८६ नम्वरको ट्याक्सीको अगाडि र साइडको सिसा तोडफोड गरी क्षति पुर्‍याएका थिए।

 

– नागरिक