अरब लीगको आपत्कालीन बैठकद्धारा सिरियाका राष्ट्रपति असादलाई तत्काल सत्ता छाड्न आग्रह

अरब लीगका विदेश मन्त्रीहरुको आपत्कालीन बैठकले सिरियाका राष्ट्रपति बशार अल असादलाई तत्काल सत्ता छाड्न आग्रह गरेको छ । कतारमा बसेको बैठकपछि अरब लीगका विदेश मन्त्रीहरुले असादलाई छिटो सत्ता छोड्न भन्दै उनको परिवारलाई सिरिया बाहिर जान सुरक्षित मार्गको प्रस्ताव गरेका छन् ।

 

उनीहरुले सिरियाका विपक्षीलाई संक्रमणकालीन सरकार गठन गर्न समेत आह्वान गरेका छन् । यता सिरियामा विद्रोहीले कब्जा गरेका दमस्कस र एलेप्पो शहरका विभिन्न भाग पुन आफ्नो नियन्त्रणमा लिन सरकारी सेनाले आक्रमण तिब्र पारेका छन् । सेनाल मेचेह नियन्त्रणमा लिने क्रममा २० भन्दा बढी विद्रोही समर्थक मारिएको बताइएको छ ।

उत्तर पूर्वी दमस्कस आसपासका बरजेहमा पनि दुवै तर्फबाट संघर्ष चलिरहेको छ । विद्रोहीले अघिल्लो हप्तादेखी राजधानी दमस्कसमै आक्रमण तिब्र पारेपछि सेनाले पनि जवाफी कारवाही तिब्र पारेको हो ।

 

विद्रोहीले दमस्कसमा गराएको आत्मघाती आक्रमणमा राष्ट्रपति बशार अल असादका जेठान, रक्षामन्त्री लगायतको मृत्यु भएपछि उनीहरुले दमस्कसलाई आक्रमणको निशाना बनाइरहेका छन् । सरकारी टेलिभिजनका अनुसार सेनाले आतंककारीहरुको खोजी तिब्र पारेको छ । आफ्नो सत्ता विरुद्ध १६ महिना यता जारी संघर्षमा १९ हजार भन्दा बढी मानिस मारिइसके पनि असादले भने सत्ता छाड्ने कुनै संकेत दिनु भएको छैन ।