सिरियाले विदेशी हस्तक्षेप भएमा रासायनिक हतियार प्रयोग गर्ने चेतावनी दिए लगत्तै अन्तर्राष्ट्रिय समुदायद्धारा कडा प्रतिक्रिया

सिरियाले विदेशी हस्तक्षेप भएमा रासायनिक हतियार प्रयोग गर्ने चेतावनी दिए लगत्तै अन्तर्राष्ट्रिय समुदायले कडा प्रतिक्रिया दिएका छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरियाका राष्ट्रपति बशार अल असादलाई उनको सरकारले रासायनिक हतियार प्रयोग गरे त्यसको चर्को मूल्य चुकाउनु पर्ने चेतावनी दिनु भएको छ ।


संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले रासायनिक हतियारको प्रयोग गर्ने सोचाई नै निन्दनीय भएको बताउनु भएको छ । यस्तै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले असादसंग नजिक रहेका लेबनानको शिया इस्लामिक समुहको हातमा यस्ता हतियार पुग्न सक्ने आशंका व्यक्त गर्नु भयो ।


सिरियाको विदेश मन्त्रालयका प्रवक्ताले मुलुकमा विदेशी हस्तक्षेप भएमा मात्रै रासायनिक हतियार प्रयोग गर्ने चेतावनी दिएका थिए । उनले हतियार सुरक्षित रुपमा भण्डारण गरिएको र आफ्ना नागरिक विरुद्ध प्रयोग नगरिने स्पष्ट पारेका छन् ।


\यसैबीच विद्रोहीले नियन्त्रणमा लिएको दाबी गरेको एलेप्पो शहरमा सरकारी सेनाले आक्रमण तिब्र बनाए पछि त्यहां भिषण संघर्ष भएको छ । सरकारी सेनाले शहरको केन्द्रीय कारागार नै ध्वस्त पार्ने चेतावनी दिएको अधिकारकर्मीहरुले जनाएका छन् । राष्ट्रपति असादको शासन विरुद्ध १६ महिना यता देखीको संघर्षका क्रममा १५ लाख मानिस घरवारविहिन भएको र १ लाख १५ हजार मानिस छिमेकी मुलुक पलायन भएको अनुमान गरिएको छ ।