काठमाण्डौं । महानगरीय प्रहरी परिसर हनुमान ढोकाले राजधानीमा आपत्कालीन सुरक्षा योजना लागू गरिएको जनाएको छ ।
सम्भावित डकैती, अपहरण, चोरी, लुटपाट, हत्या, विस्फोट गुण्डागर्दी, गोलीप्रहार लगायतका आपराधिक घटनालाई ध्यानमा राखेर असार अन्तिम सातादेखि यो योजना लागू गरिएको खबर अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
परिसरका प्रमुख एसएसपी जयबहादुर चन्दले दुई सय ६३ पृष्ठ लामो बर्तमान तथा भावी सुरक्षायोजना बनाएर त्यसलाई लागू गर्न राजधानीभरका प्रहरी वृत्त, प्रभाग र युनिट इन्चार्जलाई निर्देशन दिईसकेका छन् ।
सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न चक्रपथ भित्र तीनवटा सेक्टर विभाजन गरी सुरक्षाकर्मी परिचालन गरिएको छ । थापाथली पुलदेखि चप्पल कारखानासम्म पहिलो, महाराजगन्जदेखि त्रिपुरेश्वरसम्म दोस्रो र स्वयम्भुदेखि त्रिपुरेश्वर सम्म तेस्रो गरी तीनवटा सेक्टर छुट्याइएको छ । RSS