काठमाडौ – मुलुकले धान्न नसक्ने गरी सरकारले पूर्वविशिष्ट पदाधिकारीहरूलाई सेवासुविधा दिन गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएको नेपाल नागरिक समाजले आजदेखि रिले अनशन सुरु गरेको छ ।
पूर्वप्रशासक तथा समाजका अध्यक्ष खेमराज रेग्मीको नेतृत्वमा सुरु गरिएको रिले अनशनमा समाजका अध्यक्ष गौरी चौधरी तथा सदस्यहरू मोहन शर्मा कट्टेल, धन खतिवडा, शर्मिला पण्डित क्षेत्री, इन्द्रकुमार श्रेष्ठ र समाजका काठमाडौं जिल्ला अध्यक्ष दीपक थापा सहभागी छन् ।
राजधानीको रत्नपार्कस्थित शान्तिवाटिकामा आयोजना गरिएको रिले अनशनमा विभिन्न पेसागत सङ्घसंस्थाका अगुवाले समेत ऐक्यबद्धता जनाएका छन् । सरकारले मुलुकका पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री र पूर्वप्रधानन्यायाधीशलगायतलाई आजीवन इन्धन खर्च, सेवासुविधा र आवास खर्च दिने निर्णय गरेपछि राज्यको ढुकुटीले धान्न नसक्ने भन्दै समाज आन्दोलनरत रहँदै आएको छ ।
अध्यक्ष रेग्मीले मुलुकमा संवैधानिक सङ्कट गहिरिँदो अवस्थामा रहेको र राजनीतिक अन्यौल बढ्दै गएको अवस्थामा सरकारले पूर्वविशिष्ट पदाधिकारीहरूलाई सेवासुविधा दिएर राजनीतिलाई समाज सेवाभन्दा व्यवसायतर्फ उन्मुख गराएकामा आपत्ति जनाए ।
अनशनप्रति ऐक्यबद्धता जनाउँदै नेपाल पत्रकार महासङ्घका पूर्वसभापति विष्णु निष्ठुरी, नेपाल प्राध्यापक सङ्घका महासचिव रामेश्वर उपाध्याय र वरिष्ठ पत्रकार युवराज घिमिरेले मुलुक संविधान पाउन नसकेर अनिर्णयको बन्दी भइरहेको अवस्थामा आमनागरिकलाई बेवास्ता गर्दै राज्यको ढुकुटी सिध्याउने खेलमा सरकार लाग्नु आश्चर्यको विषय भएको बताए । रासस