सिरियामा राष्ट्रपति बशार अल असादका सहयोगीहरुले साथ छोड्दै जान थालेपछि उनीमाथि थप दबाब

सिरियामा राष्ट्रपति बशार अल असादका सहयोगीहरुले उनको साथ छोड्दै जान थालेपछि उनीमाथि थप दबाब बढेको छ । पछिल्लो समय युनाइटेड अरब इमिरेट्स र साइप्रसका लागि सिरियाका कुटनीतिज्ञले असादको साथ छोडेर कतार पुगेको अमेरिकाले दाबी गरेको छ ।


सिरियाको आर्थिक केन्द्र मानिने एलेप्पो शहरमा विद्रोहीलाई थप अगाडि बढ्नबाट सरकारी सेनाले रोक्ने प्रयास गरिरहेका बेला सिरियाका कुटनीतिज्ञले यसरी असादको साथ छोडेको खबर आएको हो । यसअघि इराक र कतारका लागि सिरियाका राजदूतहरुले पनि असादको साथ छोडिसकेका छन् ।


यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले सिरियामा जारी नरसंहार रोक्न विश्व समुदायलाई आग्रह गर्नु भएको छ । तर पनि सुरक्षा परिषद्का सदस्यहरु सिरिया विरुद्ध थप के कदम चाल्ने भन्ने विषयमा अन्यौलमै छन् ।


यता सिरियामा संघर्ष चुलिएका कारण सिरियाली जनता छिमेकी मलुक पलायन हुने क्रम बढ्न थालेपछि क्षेत्रीय चासो पनि बढ्न थालेको छ । टर्कीले सिरियाबाट शरणार्थी आउन नरोके पनि सिमामा भने कडाई गरेको जनाएको छ । सिरियामा असादको शासन विरुद्ध १६ महिना यताको संघर्षका कारण हजारौं सिरियाली टर्की, लेवनान ,जोर्डन र इराक पलायन भैसकेका छन् ।