प्रधानमन्त्री भट्टराईले भ्रष्टाचार न्यूनीकरणका लागि कानुन सुधार गरेर अगाडि बढ्न सरकार प्रतिबद्ध रहेकोमा जोड

काठमाडौ । प्रधानमन्त्री डा बाबुराम भट्टराईले भ्रष्टाचार न्यूनीकरणका लागि तर्जुमा गरिएका ऐन कानुनलाई समयसापेक्ष सुधार गरेर अगाडि बढ्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

 

भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियान, नेपालले आज प्रधानमन्त्रीकै कार्यकक्ष सिंहदरबारमा बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले जनताले चाहेअनुसार भ्रष्टाचारमुक्त समाज स्थापना गरी मुलुकमा सुशासनको प्रत्याभूति दिन आफू तत्पर रहेकोमा जोड दिनुभयो ।

 

 अभियानद्वारा बुझाइएका सबै माग समयसापेक्ष र सान्दर्भिक भएकाले यसलाई कार्यान्वयनको दिशामा लैजानका लागि आफू प्रतिबद्ध रहेको भन्दै प्रधानमन्त्रीले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने अभियानमा सबै पक्षको सहयोग आवश्यक हुने बताउनुभयो ।

 

– RSS