सर्वोच्च अदालतका तीनजना पूर्व प्रधान न्यायाधीशद्धारा सरकारबाट प्रदान गरिएको सुविधा फिर्ता

काठमाडौँ – सर्वोच्च अदालतका तीनजना पूर्व प्रधान न्यायाधीशले सरकारबाट प्रदान गरिएको सुविधा आईतावार फिर्ता गरेका छन्। पूर्व प्रधान न्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा र रामप्रसाद श्रेष्ठले सुविधा फिर्ता गरेका हुन्।

 

उनीहरुले आज सर्वोच्च अदालतमा आफूहरूलाई प्रदान गरिएको सरकारी गाडी, इन्धन, नासुस्तरको निजी सचिव र सवारी चालक सर्वोच्च अदालतमा फिर्ता गरेको सर्वोच्चका सहायक प्रवक्ता हेमन्त रावलले बताए।

हाल १६ जना पूर्व प्रधान न्यायाधीश रहेकोमा ११ जनाले सरकारी सुविधा उपभोग गर्दै आएका छन्।


उनीहरूमध्ये राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले सो सुविधा उपभोग गरेका छैनन् भने पूर्व प्रधान न्यायाधीश नैनबहादुर खत्री सो सुविधाबाट बञ्चित रहँदै आएका छन्।


त्यसैगरी पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले पनि सुविधाको गाडी आज फिर्ता गरेका छन्। रासस