जापानमा जेल जीवनको सजाय पाएका मैनालीको मुद्दा पुनरावलोकन गर्न आदेश

 एक जापानी महिलाको हत्या अभियोगमा १५ बर्ष जेल बसेर अघिल्लो महिना रिहा भएका नेपाली गोविन्दप्रसाद मैनालीको मुद्दा पुनरावलोकन गर्न टोक्यो उच्च अदालतले आदेश दिएको छ ।

मंगलबार भएको सुनुवाईमा न्यायाधीश मासाकाजु याकीले मैनालीको मुद्दा पुन सुनुवाई गरि अन्तिम किनारा लगाउन आज बिहान आदेश दिएका छन् । सरकारी वकिलले मैनाली दोषी रहेकाले उनको मुद्दा पुन सुनुवाई गर्न नहुने भन्दै दिएको रिटमाथि अदालतले यस्तो आदेश दिएको हो । अब मैनालीको मुद्दामाथि पुन सुनुवाई प्रकृया सुरु हुने छ ।

दुई महिना पहिले भएको सुनुवाईका क्रममा अदालतले मैनालीलाई रिहा गरि जेल बाहिर बसेरै मुद्दा लड्न पाउनुपर्ने फैसला गरेको थियो । सोहीअनुसार मैनाली रिहा भएर नेपाल फर्किएका छन् । मैनाली रिहा भएपछि सरकारी वकिलले उनी दोषी भएको भन्दै मुद्दा पुनरावलोकन नगर्न माग गर्दै रिट दायर गरेका थिए ।

प्रमाणहरुको डीएनए परिक्षण गर्दा हत्यामा मैनालीको संलग्नता नदेखिएपछि मैनालीका वकिलहरुले मुद्दा पुन सुनुवाईका लागि माग गरेका थिए । अब मैनालीको मुद्दाबारे पछिल्ला प्रमाणहरुलाई आधार मानेर सुनुवाई हुनेछ । उनी निर्दोष सावित हुने र क्षतिपूर्ति पाउने लगभग पक्का रहेको मैनाली सहयोग समितिका सदस्यहरुले बताएका छन् ।