पुरोहित ब्राम्हणद्वारा त्यसरी रक्षा बन्धन धागो बाँध्दा दैत्यराज बलिको दानशीलता र सत्यनिष्ठा स्मरण गराउने मन्त्र वाचन गर्ने गरिन्छ । रक्षाबन्धन धागो पुरुषहरुको दायाँ र महिलाहरुको बायाँ नाडीमा बाँध्ने गरिन्छ । यस दिन बाँधिएको त्यस धागोलाई तिहार लक्ष्मीपूजाको दिनमा फुकालेर गाईको पुच्छरमा बाँधी विसर्जन गर्ने परम्परा छ ।
नयाँ जनै लगाउने तागाधारीहरुबाट सप्त ऋषि कश्प, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित बसिष्ठलाई तर्पण दिने भएकाले यस पर्वलाई ‘ऋषि तर्पणी’ पनि भन्ने गरिन्छ । यस दिन ज्वाईंहरुले आफ्ना ससुराबाट नयाँ जनै फिर्ने गरिन्छन् ।
तराई भेगमा यस दिनलाई दिदी बहिनीले आफ्नी दाजुभाइहरुका नाडिमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै स्नेहको प्रतीक ‘राखी’ बाँधि दिने गर्दछन् ।
नेवार समुदायमा भने यस पर्वलाई बेग्लै रुपले मनाउने गर्दछन् । उनीहरु यस पर्वलाई ‘गुन्हु पुन्ही’ भनी मास, भट्मास, मुँग, ठूलो केराउ, सानो केराउ, चना, सीमी, गुँासर र बोडी गरी नौ प्रकारको गेडागुडी मिसाई पकाएको क्वाटी खाएर पिउने गर्दछन् । श्रावण पूणिर्मादेखि अष्टमीसम्म नौ दिनसम्म मनाउने भएकाले यस पर्वलाई ‘गुन्हु पुन्ही’ भन्ने गरेको भन्ने बढापाकाहरुको भनाई छ । उनीहरु नौ दिनसम्म दैनिक एक बौद्ध बिहारमा त्यहाँ प्रदर्शनको लागि राखिएका ‘बही द्यः’ हेर्न जाने चलन छ ।
यसै दिन उपत्यकाका किसानहरुले भने आ-आफ्ना खेतमा गएर भ्यागुताहरुलाई पूजा गरेर भात खुवाउने चलन भएकोले यस पर्वलाई ‘ब्याँ जाः नकेगु (भ्यागुतालाई भात खुवाउने) पर्व भन्ने पनि गर्दछन् । भ्यागुता कराएपछि स्वर्गका राजा इन्द्रले रोपाइँका लागि वर्षा गराउँछ र उनीहरुले माटामा भएका खेतीपातीलाई बिगार्ने कीरा-फट्यांग्राहरु खाएर माटोमा भएको उर्वरा शक्ति बढाउन सहयोग गरेकाले उनीहरुप्रति कृत्तज्ञता ज्ञापन गर्न त्यसरी भात खुवाउने गरेको भन्ने लोक कथन छ ।
तर ‘रुद्रायामलतन्त्रे महादेव वचन’ कथाअनुसार प्राचीनकालमा साउन कृष्ण चतुर्दशी (गथाँमुगः)का दिन घण्टासुर अर्थात घण्टाकर्ण नामक राक्षस नेपालमा प्रवेश गरी मानिसहरुको संहार गर्न खोज्दा एउटा भ्यागुताले त्यस राक्षसलाई मार्ने उपाए बताएकाले त्यस राक्षसले केही बिगार्न सकेन र त्यसै कारणले जनैपूर्णिमाका दिन त्यसरी भात खुवाउने गरेका हुन् ।
यस दिन रसुवा जिल्लामा पर्ने लामटाङ्ग हिमालयको काखमा रहेको गोसाइँकुण्ड (शिवलुती) मा ठूलो मेला लाग्दछ । साथै, गोसाइँ कुण्डबाटै पानी आइराखेको जनविश्वास रहेको पाटनको कुम्भेश्वरमा पनि ठूलो मेला लाग्दछ । कुम्भ ऋषिले तपस्या गरेकाले उनकै नामबाट कुम्भेश्वरको नामबाट प्रसिद्ध भएको उक्त कुण्डमा स्नान गरेर त्यहाँ रहेको कुम्भेश्वर महादेवको पूजा अर्चना गर्ने गर्दछन् ।
यस दिनदेखि नेवार समुदायमा करुण रसले भरिएको ‘सिलु तीर्थ म्ये’ गीत गाउने चलन छ ।